अमेरिकी मन्त्रीले गरिन् प्रचण्डको प्रशंसा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

अमेरिकी मन्त्रीले गरिन् प्रचण्डको प्रशंसा



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि वेल्सले भेट गरेका छन् ।

आइतवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको थियो । अध्यक्ष प्रचण्डले भने, ‘नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।’

प्रचण्डले ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पारे ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रचण्डले भने, ‘नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’ उनले शान्ति, समृद्धि र लोकतन्त्र प्रति आफूहरु प्रतिवद्ध रहेको बताउँँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गरे । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताए ।

नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उनले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताए । उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताए ।

मन्त्री वेल्स भने, ‘नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावनाहरु रहेका छन् ।’