७ गोलको खेल: एमबाप्पे चम्किए, विश्वकपमा ‘यु’ टर्न
काठमाडौं- दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो। फ्रान्सको जितमा १९ वर्षीय युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरे। अब फ्रान्सले अन्तिम ८ मा पोर्चुगल र उरुग्वे मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।
फ्रान्सले खेलको १३ मिनेटमा अग्रता लिएको थियो। केलियन एमबाप्पेलाई अर्जेन्टिनाका मार्कोस रोजोले लडाएपछि प्राप्त पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १-० ले अघि बढाए।
४१ मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो। एन्जेल डि मारियाले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए। उनको प्रहारलाई रोक्न फ्रान्सका गोलकिपर हुगो लोरिसले रोक्ने कुनै मौका नै पाएनन्।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा अर्जेन्टिनाले खेलमा अग्रता लिन सफल भयो। ४८ मिनेटमा लियोनल मेसीले डिबक्स नजिकबाट हानेको प्रहारलाई मार्कोडोले डिबक्स भित्रबाट गोलपोस्टको दिशा दिए।
५७ मिनेटमा फ्रान्सले बराबरी गोल फर्कायो। डिफेन्डर पभार्डले लुकास हर्नान्डेजको क्रसमा हाफ भलि सर्टमार्फत लोभलाग्दो गोल गर्दा खेल २-२ को बराबरी भयो।
६४ मिनेटमा फ्रान्सले दोस्रो पटक अग्रता लिन सफल भयो। फ्रान्कोस अर्मानीले उपलब्ध गराएको पासमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-२ ले अघि बढाएका थिए। ४ मिनेटमा पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले अग्रता दोब्बार पारेको थियो। एमबाप्पेले ओलिभर जिरुडको पासमा गोल गर्दा फ्रान्सले ४-२ को अग्रता लियो।
तर दोस्रो हाफको इन्जुरी टाइममा सर्जियो अग्युरोले गोल गर्दा खेल ४-३ को अवस्थामा आयो। तर त्यतिबेलासम्म अर्जेन्टिनालाई खेलमा फर्कन ढिला भइसकेको थियो।
योसँगै विश्वका स्टार खेलाडी लिओनल मेसीको विश्वकप जित्ने सपना पूरा हुन सकेन। किनकी ३१ वर्षीय मेसीको यो अन्तिम विश्वकप ठानिएको छ। अघिल्लो विश्वकपमा मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फाइनल यात्रा गराएका थिए। तर रसिया विश्वकपमा अर्जेन्टिनाले सोचेअनुरुपमा प्रदर्शन गर्न सकेन।