विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने, किन उनलाई रोजियो ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने, किन उनलाई रोजियो ?



मस्को । रसियामा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल (आइतबार) हुँदैछ । फाइनलमा पूर्वविजेता फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच भिडन्त हुने छ । फ्रान्स बेल्जियमलाई हराएर तथा क्रोएसिया इंग्ल्याण्डलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेका छन्। दुवै टिम अहिले फाइनलको अन्तिम तयारीमा छन् ।

मस्कोमा हुने फाइनल खेल कसले खेलाउने भन्ने पनि तय भएको छ । अर्थात फ्रान्स र क्रोएसियाबिचको फाइनलमा रेफ्री को रहने भन्ने टुंगो लागेको छ । अर्जेन्टिनाका रेफ्री नेस्तोर पितानाले फाइनल खेलाउने भएका छन् ।

पिताना आफ्ना सहयोगीको टिमसहित फाइनल खेलाउने रेफ्रीका रुपमा चयन भएका हुन् । हेर्नान माइदाना र आन पाब्लो बेलात्तीले फाइनलमा पितानालाई सहयोग गर्नेछन् । ४३ वर्षका फिलिकल एजुकेशन टिचर पितानाले रुस विश्वकपमा अहिलेसम्म चार खेलमा रेफ्रीको भूमिका खेलीसकेका छन् ।

उनले रुस र साउदी अरेबियाबिचको उद्घाटन खेल तथा समूह चरणमा मेक्सिको र स्वीडेनबिचको खेल खेलाए । यसैगरी अन्तिम १६ मा क्रोएसिया र डेनमार्क तथा क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सबिचको खेल पनि उनैले खेलाएका हुन् । पिताना सन् २०१० देखि अन्तर्राष्ट्रिय रेफ्री रहँदै आएका छन् । -एजेन्सी