विश्वकपमा बन्यो अर्को कीर्तिमान, बंगलादेश र श्रीलंकाको खेल रद्द - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

विश्वकपमा बन्यो अर्को कीर्तिमान, बंगलादेश र श्रीलंकाको खेल रद्द



काठमाडौं । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा निरन्तरको वर्षाले गर्दा खेलहरु अवरुद्ध हुँदै आएपछि प्रतियोगिता नै खल्लो बन्न थालेको छ ।

केही खेलहरु वर्षा हुँदा ओभर घटाएर भएपनि ‘डकवर्थ लेविस’ नियमानुसार निर्णय हुँदै आएकामा अहिलेसम्म तीन खेल वर्षाले पूरा नै हुन सकेनन् ।

जसका कारण मंगलबार श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द हुँदा एक/एक अंक बाँड्न पुगे ।

यसअघि, श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।

कुनैपनि विश्वकपमा तीन खेल रद्द भएको यो पहिलोपटक हो । यसअघि, तीन विश्वकपमा दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले वैकल्पिक व्यवस्था गर्न सकेको छैन । सेमिफाइनल र फाइनलका लागिमात्र ‘रिजर्भ’ दिन राखिएको छ ।

रिजर्भ दिनमा पनि खेल हुन नसके लिग चरणको स्थानका आधारमा सेमिफाइनलबाट फाइनल पुग्ने व्यवस्था आइसीसीले गरेको छ ।

फाइनलको रिजर्भ दिनमासमेत खेल हुन नसके दुवै टिमलाई विजेता घोषणा गरिनेछ ।