विश्वकपको एउटा अचम्मको किर्तीमान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विश्वकपको एउटा अचम्मको किर्तीमान



एजेन्सी – विश्वकप क्रिकेटमा थुप्रै कीर्तिमान बनेका छन्। विश्वकपको इतिहासमा पहिलो तीन बलमै ह्याट्रिक लिने कीर्तिमान भने श्रीलंकाका चामिन्डा भासले बनाएका छन्। तीब्र गतिका बलर भासले सन् २००३ को विश्वकपमा यस्तो कीर्तिमान बनाएका हुन्।

उनले छिमेकी मुलुक बंगलादेशविरुद्धको खेलमा पहिलो तीन बलमै ह्याट्रिक लिएका थिए। भासले हन्नान सरकार, मोहमद अस्रफुल र इस्सानुयल हकको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। भासले ह्याट्रिकसहित पहिलो ओभरमा चार विकेट लिएका थिए। पहिलो ओभरमा उनले अल साहरियरलाई पनि आफ्नो सिकार बनाएका थिए। उक्त खेलमा भासले ९.१ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३१.१ ओभरमा अलआउट हुँदै १२४ रन मात्र बनाउन सकेको थियो।

जवाफी ब्याटिङ गरेको श्रीलंकाले २१.१ ओभरमा विकेट नगुमाई जित हात पारेको थियो। श्रीलंकाका प्रारम्भिक ब्याट्सम्यान मार्भन अटपट्टु र सनथ जयसूर्याले अर्धशतकीय पाली खेल्दै टोलीलाई जित दिलाएका थिए।

विश्वकपमा अहिलेसम्म १० वटा ह्याट्रिक बनेको छ। पहिलो ह्याट्रिक भने सन् १९८७ को विश्वकपमा भारतका चेतन शर्माले न्युजिल्यान्डविरुद्धको खेलमा लिएका थिए।