विश्वकप: ५२ खेलमा कति पेनाल्टी, कति भए गोल ? - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

विश्वकप: ५२ खेलमा कति पेनाल्टी, कति भए गोल ?



रुस विश्वकप सर्वाधिक पेनाल्टी दिइएको विश्वकप बनेको छ। प्रतियोगितामा ५२ खेल सकिँदासम्म २७ पेनाल्टी दिइएको छ। यसमा टाइब्रेकरका पेनाल्टी समावेश छैनन्। प्रतियोगिताका पछिल्ला दुईवटा नकआउट खेलको नतिजा टाइब्रेकरबाट लिइएको छ।

२७ पेनाल्टीमध्ये २० वटामा गोल भएको छ। सातवटामा भने गोल हुन सकेन। ती गोल गर्न नसक्ने खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सीदेखि पोर्चुगलका रोनाल्डो हुँदै क्रोएसियाका लुका मोड्रिचसम्म पेनाल्टीमा चुके। रोनाल्डो र मोड्रिचले अर्को एक पेनाल्टीमा भने गोल गरेका थिए।

टाइब्रेकरमा रुसले स्पेनलाई ४-२ गोल र क्रोएसियाले डेनमार्कलाई ३-२ गोलले हराएको थियो। रुसको जितमा गोलरक्षक इगोर अकिनफिभ र क्रोएसियाको जितमा गोलरक्षक डानियल सुबासिच नायक बने। त्यसो त अतिरिक्त समयमा डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले क्रोएसियाका लुका मोड्रिचको पेनाल्टी बचाएका थिए।

यसअघि एउटै विश्वकपमा १८ वटासम्म पेनाल्टी दिइएको थियो। उक्त कीर्तिमान भने यसपटक समूह चरणमै तोडिएको थियो। समूह चरणमा पोर्चुगलले इरानविरुद्ध पाएको पेनाल्टी जारी विश्वकपमा १९ औं थियो। तर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उक्त पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्।

भिडियो असिस्टेन्ट रेफ्री-भिएआर प्रविधिको प्रयोगले यसपटक पेनाल्टीको संख्या बढेको हो। रेफ्रीका गल्तीलाई सच्याउन ल्याईएको यस प्रविधीले रेफ्रीका निर्णयहरुलाई धेरैपटक उल्टाई दिएको छ। प्रतियोगितामा नकआउट चरणका चार वटा खेल सकिँदा तीनवटा पेनाल्टी दिइएको छ।

प्रतियोगितामा इंग्ल्याण्ड, फ्रान्स, स्वीडेन र अस्ट्रेलियाले पेनाल्टीमा दुई/दुई गोल गरेका छन्। बेल्जियम , रुस, क्रोएसिया, पोर्चुगल, ट्युनिसिया, जापान, नाइजेरिया, मेक्सिको, इरान, आईसल्यान्ड, इजिप्ट र साउदी अरबले एक एक गोल पेनाल्टीमा गरेका छन्। टाइब्रेकरमा गरेको गोललाई खेलाडीको व्यक्तिगत गोलमा गणना गरिँदैन।

यसपटक विश्वकपमा सर्वाधिक आत्मघाती गोलको कीर्तिमान पनि बनेको छ। यसअघिका विश्वकपमा एउटै संस्करणमा ६ वटासम्म आत्मघाती गोल भएको थियो। तर यसपटक सातवटा आत्मघाती गोल भईसकेको छ। प्रतियोगितामा एक सय ३६ गोल भईसकेको छ।