८८ वर्ष लामो विश्वकपको इतिहास यस्तो छ ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

८८ वर्ष लामो विश्वकपको इतिहास यस्तो छ !



काठमाडौं । रसियामा  एक महिनादेखि जारी विश्वकप रातिदेखि सकिएको छ  ।  खेलकुदमा सबैभन्दा लोकप्रिय मानिएको विश्वकप फुटबलको  ८८ वर्षे यात्रामा  कस्तो छ त ?  कुन राष्ट्र सफल कुन असफल ?  विश्वकप फुटबल खेल्ने राष्ट्रहरूलाई जति चासो हुन्छ त्यति नै चासो सहभागी नभएका राष्ट्रहरूलाई पनि हुने गरेको छ । थुप्रै चुनौति र कठिनाईको सामना गर्दै ८८ वर्षे यात्रालाई पार गरेको विश्वकप फुटबलको  यस्तो छ इतिहास :

उरुग्वे (सन् १९३०)


विश्व फुटबल महासंघ (फिफा) ले सन् १९२८ मा विश्वकप १९३० मा आयोजना गर्ने निर्णय गर्दै त्यसको एक वर्षपछि उरुग्वेलाई पहिलो विश्वकप आयोजना गर्न जिम्मा दियो । विश्वकप जस्तो ऐतिहासिक र ठूलो प्रतियोगिता आयोजना गर्न पाउनु उरुग्वेको लागि गौरभको विषय बन्यो ।
पहिलो विश्वकप सन् १९३० जुलाई १३ देखि ३० तारिखसम्म उरुग्वेका विभिन्न ३ शहरमा भएको थियो । पहिलो विश्वकपको उपाधि पनि उरुग्वेले नै जित्दै इतिहासमाथि इतिहास बनाउन सफल भएको थियो । फाइनल खेलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको थियो ।
पहिलो विश्वकप आयोजना हुँदा फिफामा ४१ राष्ट्र मात्रै सदस्य थियो । पहिलो विश्वकपमा जम्मा १३ राष्ट्रले सहभागिता जनाएका थिए । यो विश्वकपमा भएको जम्मा १८ खेलबाट ७० गोल भएको थियो ।  यो विश्वकपमा सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका गुइलेर्मो स्टाविलले सुनको जुत्ता पाए । उनले ४ खेलबाट ८ गोल गरेका थिए ।
विभिन्न कठिनाई तथा चुनौतिको चाङलाई पन्छाउदै सफलतापूर्वक उरुग्वेले विश्वकप आयोजना गरेपछि यसको लोकप्रियता झनै बढेर गयो ।

ad

इटाली (सन् १९३४)


पहिलो विश्वकप उरुग्वेले सफलतापूर्वक सम्पन्न गरेपछि दोस्रो विश्वकप फुटबलको आयोजना गर्ने जिम्मा इटालीले पायो । इटालीमाथि चुनौतिको चाङ त्यसै थपिएको थियो ।
मे २७ देखि जुन १० सम्म इटालीको विभिन्न ८ शहरमा आयोजना भएको विश्वकपमा ४ महादेशका जम्मा १६ राष्ट्रले भाग लिएका थिए । पहिलो विश्वकप भन्दा दोस्रो तुलनात्मक रुपमा ठूलो र भब्य बन्यो ।
दोस्रो विश्वकपको उपाधि आयोजक राष्ट्र इटालीले नै जित्दै उसले पनि विश्व फुटबल इतिहासमा आफ्नो नाम लेखाउन सफल भएको थियो । फाइनल खेलमा चेकोस्लोभाकियालाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै इटालीले उपाधि उचालेको थियो ।
दोस्रो विश्वकपमा जम्मा १७ खेलबाट ७० गोल भएको थियो ।

फ्रान्स (सन् १९३८)


सुरुवाती समयदेखि नै प्रत्येक ४–४ वर्षमा हुन थालेको विश्वकप सन् १९३८ को तेस्रो संस्करण भने फ्रान्समा भयो । तर, दोस्रो संस्करणको विश्वकपको भन्दा १ टिम घटेर १५ राष्ट्रले मात्रै विश्वकपमा भाग लिए । १६ टिमकै छनोट भएपनि अष्ट्रिया राजनीतिक कारणबस विश्वकपबाट नाम फिर्ता लिएका थिए ।
फ्रान्सको विभिन्न १० शहरमा आयोजना भएको विश्वकपको उपाधि यो पटक पनि इटालीले नै जित्दै इतिहास बनाएको थियो । इटालीले फाइनलमा हंगेरीलाई ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको थियो ।
विश्वकपमा जम्मा १८ खेलमा ८४ गोल भएको थियो ।

ब्राजिल (सन् १९५०)


सन् १९३८ पछि एकैचोटी सन् १९५० मा आएर विश्वकपको चौथो संस्करण भयो । योजनाअनुसार सन् १९४२ र १९४६ मा हुने भनिएको विश्वकप दोस्रो विश्व युद्धका कारण रद्द भएको थियो । अघिल्लो तीन संस्करण सफलतापूर्वक सम्पन्न भएको विश्वकप दोस्रो विश्व युद्धले प्रतियोगिता नै आगमी दिनमा हुने या नहुने स्थितिमा पु¥याएको थियो ।
यद्यपी फिफाले पुनः विश्वकप फुटबललाई जीवित राख्ने हिसाबले सन् १९५० को चौथो विश्वकप फुटबल आयोजना गर्न ब्राजिललाई जिम्मा दियो । विश्व युद्धले क्षतविक्षत भएको अवस्थामा धेरै राष्ट्रको विश्वकपमा सहभागिता जनाउने हैसियत नै भएन ।
१६ टिम विश्वकपमा छनोट भएपनि भारत, टर्की र स्कल्याण्डले नाम फिर्ता लिएपछि विश्वकपमा जम्मा १३ राष्ट्रले मात्रै भाग लिए ।
ब्राजिलको ६ शहरमा आयोजना भएको चौथो संस्करणको विश्वकपको उपाधि दोस्रो पल्ट उरुग्वेले जित्न सफल भयो । उरुग्वेले आयोजक ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि चुम्न सफल भयो ।
विश्वकपमा २२ खेल भएको थियो भने ८८ गोल भएको थियो ।

स्वीट्जरल्याण्ड (सन् १९५४)


सन् १९५४ मा सम्पन्न भएको विश्वकप फुटबल स्वीट्जरल्याण्डको विभिन्न ६ शहरमा जुन १६ देखि जुलाई ४ सम्म भयो । पाचौं संस्करणको विश्वकप फुटबलको उपाधि त्यसबेलाको वेष्ट जर्मनीले जितेको थियो ।
जर्मनीले पहिलो पटक विश्वकपको उपाधि उचाल्ने क्रममा फाइनलमा हंगेरीलाई ३–२ गोलको कठिन जित निकालेको थियो । जर्मनीसँग पराजित भएसँगै हंगेरीको दोस्रो पल्ट पनि उपाधि जित्ने सपना विलिन भएको थियो । यसअघि पनि सन् १९३८ को विश्वकपमा फाइनलमा इटालीसँग हार्दै उपाधि जित्ने मौका गुमाएको थियो ।
विश्वकपमा १६ टिमले सहभागिता जनाएका थिए । २६ खेल भएको पाचौं संस्करणको विश्वकपमा जम्मा १४० गोल भएको थियो । हंगेरीका सान्डोर कोक्सिसले ५ खेलबाट ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । उनले गोल्डेन बुट जित्न सफल भएका थिए ।

स्वीडेन (सन् १९५८)


दोस्रो विश्वयुद्धपछि विस्तारै जुरमुराएको विश्वकप फुटबलको छैटौ संस्करण भने स्वीडेनमा भयो । जुन ८ देखि २९ तारिखसम्म आयोजना भएको विश्वकपले एउटा छुटै तरंग नै ल्याएको थियो ।
एकपछि अर्को सफल विश्वकप आयोजना हुने क्रममा स्वीडेनले पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेको थियो । यो पटकको विश्वकप भने ब्राजिलले जित्न सफल भएको थियो । ब्राजिलले आयोजक स्वीडेनलाई फाइनलमा ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दा विश्वचर्चित खेलाडी पेलेले २ गोल गरेका थिए ।
१६ टिमले सहभागिता जनाएको विश्वकपमा ३५ खेल भएको थियो । विश्वकपको स्वरुपहरू परिवर्तन हुदै जादा यही विश्वकपदेखि क्वाटरफाइनल पनि समावेश गरिएको थियो । छैटौ संस्करणको विश्वकपमा १२६ गोल भएको थियो ।

चिली (सन् १९६२)


दक्षिण अमेरिकी राष्ट्र चिलीले सन् १९६२ को सातौ संस्करणको विश्वकप फुटबल आयोजना गर्ने सौभाग्य पायो । यो संस्करणको विश्वकप पनि ब्राजिलले लगातार जित्न सफल भयो ।
मे ३० देखि जुन १७ तारिखसम्म चिलीको विभिन्न ४ शहरमा आयोजना भएको विश्वकपको फाइनलमा चेकोस्लोभाकियालाई फाइनलमा ३–१ गोलअन्तरले पराजित गर्दै ब्राजिलले दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो । चेकोस्लोभाकिया भने दोस्रो पटक विश्वकपको फाइनलमा पुगेर पराजित भएको थियो ।
विश्वकपमा १६ राष्ट्रले सहभागिता जनाएका थिए भने ३२ खेल भएको थियो । यो विश्वकपमा ८९ गोल भएको थियो ।

इंग्ल्याण्ड (सन् १९६६)


सन् १९६६ को आठौं संस्करणको विश्वकप फुटबल इंग्ल्याण्डले आयोजना गरेको थियो । जुलाई ११ देखि ३० तारिखसम्म आयोजना भएको विश्वकपमा इंग्ल्याण्डले छुट्टै आफ्नो पहिचान बनायो ।
सातौं संस्करणसम्म विश्वकपको फाइनलसम्म पनि नपुगेको इंग्ल्याण्डले आफ्नै भूमिमा भएको विश्वकपको उपाधि उचाल्दै दरिलो उपस्थिति देखाएको थियो । फाइनल खेलमा इंग्ल्याण्डले जर्मनीलाई थप गरिएको अतिरिक्त समयमा ४–२ गोलअन्तरले पराजित गरेर्दै पहिलो पल्ट विश्वकपको उपाधि चुमेको थियो ।
४ महादेशका १६ देशले सहभागिता जनाएको विश्वकप इंग्ल्याण्डको विभिन्न ८ स्थानमा भएको थियो । ३२ खेल भएको विश्वकपमा ८९ गोल भएको थियो ।

मेक्सिको (सन् १९७०)


सन् १९७० मा भएको विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्दै विश्व फुटबल इतिहासमा ऐतिहासिक नाम लेखाउन सफल भयो । आठौं संस्करणसम्म आईपुग्दा ब्राजिल इटाली र उरुग्वेले समान २–२ पटक विश्वकपको उपाधि उचालेका थिए । नवौं संस्करणको उपाधि ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि उचाल्न सफल भयो ।
ब्राजिलले इटालीलाई फाइनलमा ४–१ गोलले निरिह बनाउदै विश्वकपको उपाधि उचाल्ने सर्वाधिक सफल राष्ट्र बनेको थियो ।
फुटबलमा जादुगर भनेर चिनिने ब्राजिलियन खेलाडी पेलेले पनि फाइनल खेलमा एक गोल गरेका थिए । ब्राजिलले जितेका तीनै विश्वकपमा पेलेको महत्वपूर्ण योगदान रहेको थियो ।
मे ३१ देखि जुन २१ तारिखसम्म मेक्सिकोको विभिन्न ५ शहरमा सम्पन्न विश्वकपमा ५ अन्तरमहादेशका १६ देशले सहभागिता जनाएका थिए ।

जर्मनी (सन् १९७४)


जर्मनीले पहिलो पटक सन् १९७४ को १० औं संस्करणको विश्वकप फुटबल आयोजना गरेको थियो । आफ्नै भूमिका भएको विश्वकपको उपाधि जर्मनीले उचालेको थियो ।
फाइनल खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलअन्तरको कठिन जित निकालेको जर्मनीले दोस्रो पटक उपाधि जित्दा यता, पहिलो पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सको सपना अधुरै रह्यो ।
म्युनिखस्थित ओलम्पिया रंगशालामा भएको खेलमा आफ्नो अग्रतालाई जोगाउन नसक्दा नेदरल्याण्ड्सले हार्नु परेको थियो ।
जुन १३ देखि जुलाई ७ तारिखसम्म जर्मनीको विभिन्न ९ शहरमा ५ महादेशका १६ राष्ट्रले सहभागिता जनाएका थिए ।

अर्जेन्टिना (सन् १९७८)


सन् १९७८ मा पहिलो पटक आयोजना गरेको ११औं संस्करणको उपाधि घरेलु टोली अर्जेन्टिनाले नै जित्न सफल भयो । फाइनल खेलको अतिरिक्त समयमा नेदरल्याण्ड्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।
अर्जेन्टिनालाई उपाधि दिलाउन मारिओ केम्पेसले २ र ड्यानियल बेर्टोनीले १ गोल गरेका थिए ।
जुन १ देखि २५ तारिखसम्म अर्जेन्टिनाको विभिन्न ६ स्थानमा सम्पन्न भएको विश्वकपमा ५ महादेशका १६ टिमले सहभागिता जनाएका थिए । विश्वकपमा ३८ खेल भएका थिए भने उक्त खेलमा १०२ गोल भए ।

स्पेन (सन् १९८२)


एकपछि अर्को विश्वकप सफलपूर्वक सम्पन्न हुन थालेपछि स्पेनले सन् १९८२ को १२औं संस्करणको विश्वकप फुटबल आयोजना गर्ने अवसर पायो । फिफाले यही विश्वकपबाट १६ राष्ट्रदेखि बढाएर सहभागि टिमको संख्या २४ मा पु¥याएको थियो । विश्वकपमा सहभागि टिमको संख्या २४ पु¥याएसँगै यसको रौनकता झनै बढेको थियो ।
१२ औं संस्करणको विश्वकपको उपाधि इटालीले जित्दै सर्वाधिक ३ पटक जितेको ब्राजिलसँगको कीर्तिमानी बराबरी बनाएको थियो । इटालीले जर्मनीलाई ३–१ गोलअन्तरले पराजित गर्दै तेस्रो पल्ट उपाधि चुमेको थियो ।
विश्वकप जुन १३ देखि ११ जुलाईसम्म स्पेनको १४ शहरको १७ स्थानमा सम्पन्न भएको थियो । विश्वकपमा ५२ खेलमा १४६ गोल भएको थियो ।
१२औं संस्करणको विश्वकपमा अल्जेरिया, क्यामरुन, होन्डुरस, कुवेत र न्युजील्याण्डले पहिलो पटक सहभागिता जनाएका थिए ।

मेक्सिको (सन् १९८६)


सन् १९८६ को १३ औं विश्वकप फुटबल मेक्सिकोले आयोजना गर्ने अवसर प्राप्त ग¥यो । मे ३१ तारिखदेखि जुन २९ तारिखसम्म आयोजना भएको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले दोस्रो पटक जित्न सफल भयो ।
स्टाडियो अज्टेका मेक्सिको सिटीमा जुन २९ तारिख भएको फाइनल खेलमा जर्मनीलाई ३–२ गोलअन्तरले पन्छाउदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो । यहि विश्वकपदेखि डिएगो म्याराडोना संसारभर चर्चामा रहे । किनभने उनकै कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।
यो विश्वकपका बेष्ट प्लेयर घोषित बनेका म्याराडोनाले ५ गोल गरेका थिए ।
५ महादेशका २४ राष्ट्रले यो विश्वकपमा ५२ खेल खेलेका थिए । जसमा १३२ गोल भएको थियो ।

इटाली (सन् १९९०)


१३ औं संस्करणसम्म आईपुग्दा कुनै पनि देशले विश्वकप फुटबल दोहो¥याएर आयोजन ागर्न पाएका थिएनन भने विश्वकपै आयोजना गर्न नपाएका राष्ट्रको लाइन पनि लामै थियो । तर फिफाले सन् १९९० को १४औं संस्करणको विश्वकप फुटबल इटालीलाई दोस्रो पटक आयोजना गर्न दिने निर्णय गरेको थियो ।
१४ औं संस्करणको विश्वकपको उपाधि जर्मनीले तेस्रो पटक जित्न सफल भयो । यो भन्दा अघि ब्राजिल र इटालीले मात्रै ३–३ पटक विश्वकपको उपाधि जितेका थिए भने यो उपाधि जर्मनीले उचालेपछि तीन पटक विश्वकप जित्ने तीन राष्ट्र बने ।
जुन ८ देखि जुलाई ८ सम्म इटालीको विभिन्न १२ शहरमा सम्पन्न भएको विश्वकपमा ५ महादेशका २४ राष्ट्रले भाग लिएका थिए ।
जुलाई ८ तारिखमा स्टेडियो ओलिम्पिको रोममा सम्पन्न फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलको जित हात पार्दै विश्वकपको उपाधि चुमेको थियो । इटालीका खेलाडीले डिबक्सभित्र फल गरेपछि जर्मनीले खेलको ८५ मिनेटमा पेनाल्टी पाएको थियो ।द पेनाल्टीको राम्रो सदुपयोग गर्दै जर्मनीले गोल गरेपछि विश्वकप आफ्नो पक्षमा पारेको थियो ।
यो विश्वकपमा कोष्टारिका, युएई र रिपब्लिक आयरल्याण्डले पहिलो पटक विश्वकप खेलेका थिए ।

अमेरिका (सन् १९९४)


सन् १९९४ को १५ औं संस्करणको विश्वकप फुटबल विश्व शक्ति राष्ट्र अमेरिकामा भयो । १७ जुनदेखि १७ जुलाईसम्म अमेरिकाको ९ शहरमा सम्पनन विश्वकपको उपाधि ब्राजिलले जित्दै ४ विश्वकप जित्ने कीर्तिमानी रेकर्ड राख्यो ।
ब्राजिलले फाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउदै चौथो पटक विश्वकपको उपाधि उचालेको थियो । निकै कठिन तरिकाले उपाधि चुमेको ब्राजिलले आफ्नो दबदबालाई निरन्तरता दिन सफल भएको थियो ।
यो विश्वकपमा नाइजेरिया, साउदी अरबिया र ग्रिसले पहिलो पटक सहभागिता जनाएका थिए ।
५ महादेशका २४ राष्ट्रले ५२ खेल खेलेका थिए । जसमा १४१ गोल भएको थियो ।

फ्रान्स (सन् १९९८)


सन् १९३८ मा तेस्रो विश्वकप फुटबल आयोजाना गरेको फ्रान्सले पुनः सन् १९९८ को १६औं विश्वकप आयोजना गर्ने अवसर पायो । विश्वकपको स्वरुप परिवर्तन हुदै जानेक्रममा यही संस्करणदेखि २४ टिमबाट बढाएर फिफाले विश्वकपमा खेल्ने राष्ट्रको संख्या ३२ पु¥याएको थियो । अहिले पनि छनोट भएर आएका ३२ टिमले नै विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
आफ्नै भूमिमा भएको विश्वकपको उपाधि फ्रान्सले उचाल्दै पहिलो पटक इतिहास रचेको थियो । फ्रान्सले फाइनल खेलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।
फ्रान्सले उपाधि उचालेसँगै विश्वकप फुटबलको उपाधि जित्ने सातौ राष्ट्र बनेको थियो । १६ औं संस्करणसम्म आईपुग्दा ब्राजिलले ४, जर्मनी र इटालीले समान ३–३, अर्जेन्टिना र उरुग्वेले समान २–२ र इंग्ल्याण्ड र फ्रान्सले १–१ पटक विश्वकपको उपाधि जित्न सफल भएका थिए ।
१६ औं विश्वकपमा ४ राष्ट्रले पहिलो पटक विश्वकप फुटबल खेलेका थिए । जापान, क्रोसिया, जमैका र दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका थिए ।

दक्षिण कोरिया/जापान (सन् २००२)


विश्वकप फुटबलकै इतिहासमा पहिलो पटक एसिया महादेशमा सन् २००२ मा विश्वकप फुटबल आयोजना भएको थियो । दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप फुटबलको आयोजना गर्दा पुरै एसियाका राष्ट्र तथा मान्छेले गर्व गरेका थिए । १७औं विश्वकपअघि र पछि अहिलेसम्म एसिया महादेशमा विश्वकप फुटबल भएको छैन । यद्यपी सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा हुदैछ ।
मे ३१ देखि जुन ३० तारिखसम्म दुई देशको विभिन्न २० शहरमा सम्पन्न भएको विश्वकपको उपाधि ब्राजिलले जित्दै अर्को इतिहास बनायो । जापानको अन्तर्राट्रिय रंगशाला योकोहामामा जुन ३० तारिखमा भएको फाइनल खेलमा ब्राजिलले जर्मनीलाई २–० गोलअन्तरले पराजित गर्दै पाचौ पटक विश्वकपको उपाधि उचाल्दै सर्वाधिक विश्वकप जित्ने इतिहास बनाएको थियो । यो इतिहास अहिलेसम्म पनि कुनै राष्ट्रले तोड्न सकेका छैनन् ।
ब्राजिललाई पाचौ पटक विश्वकपको उपाधि दिलाउन रोनाल्डोको मुख्य भूमिका रहेको थियो । रोनाल्डो कै २ गोलमा ब्राजिलले जर्मनीलाई पराजित गरेको थियो । यो विश्वकपमा ७ खेलमा सर्वाधिक ८ गोल गरेका रोनाल्डोले गोल्डेन बुट प्राप्त गरेका थिए ।
यो विश्वकपमा चीन, सेनेगल, इक्वेडर र स्लोभेनियाले पहिलो पटक विश्वकप खेलेका थिए ।

जर्मनी (सन् २००६) 


सन् २००६ जुन ९ देखि जुलाई ९ तारिखसम्म जर्मनीले दोस्रो पटक १८औं विश्वकप फुटबलको आयोजना ग¥यो । यद्यपी उपाधि भने इटालीले चुम्यो । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै इटालीले चौथो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । निर्धारित समय र थप गरिएको समयसम्म दुबै टिमले १–१ गोलको बराबरीमा सकिएपछि फाइनल खेल पेनाल्टीमा धकेलिएको थियो ।
६ महादेशका ३२ राष्ट्रले सहभागिता जनाएको विश्वकप जर्मनीको विभिन्न १२ शहरमा सम्पन्न भएको थियो ।
विश्वकपमा ६४ खेलमा १४७ गोल भएको थियो ।

दक्षिण अफ्रिका (सन् २०१०)


सन् १९९८ सालमा भएको विश्वकपमा पहिलो पटक खेलेको दक्षिण अफ्रिकाले सन् २०१० को १९ औं संस्करणको विश्वकप भब्यताको साथ सम्पन्न ग¥यो ।
यो पटकको विश्वकप भने नितान्त पहिलो पटक नयाँ राष्ट्र स्पेनले जितेको थियो । स्पेनले फाइनल खेलको थप गरिएको अतिरिक्त समयमा नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक उपाधि चुम्न पुग्यो । स्पेनका लागि एन्ड्रेस इनिस्टाले गोल गरेका थिए ।
दक्षिण अफ्रिकाको विभिन्न ९ शहरमा जुन ११ देखि जुलाई ११ सम्म १ महिना सञ्चालन भएको विश्वकपमा ६ महादेशका ३२ राष्ट्रले भाग लिएका थिए ।

ब्राजिल (सन् २०१४) 


दोस्रो विश्व युद्धपछि सन् १९५० मा पहिलो पटक चौथो संस्करणको विश्वकप फुटबल आयोजना गरेको ब्राजिलले पुनः २०१४ २०औं विश्वकप आयोजना गर्ने अवसर पायो ।
२०औं विश्वकप फुटबलको उपाधि भने जर्मनीले जित्यो । यो उपाधि जितेसँगै जर्मनीले चौथो पटक विश्वकपको उपाधि आफ्नो कब्जामा पारेको थियो । ब्राजिलको विभिन्न १२ शहरमा जुन १२ देखि जुलाई १३ सम्म भएको विश्वकपमा जर्मनीले प्रतियोगिताभर दमदार प्रदर्शन गरेको थियो ।
फाइनल खेलमा जर्मनीले अर्जेन्टिनालाई थप गरिएको समयमा १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको थियो । सेमिफाइनलमा आयोजक ब्राजिललाई जर्मनीले ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमानी जित हात पारेको थियो ।
अहिलेससम्म विश्वकपको उपाधि ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ भने इटाली र जर्मनीले समान ४–४ पटक उपाधि जितेका छन् । त्यस्तै, अर्जेन्टिना र उरुग्वेले समान २–२ तथा इंग्ल्याण्ड, फ्रान्स र स्पेनले १–१ पटक विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

रुस (सन् २०१८)


सन् २०१८ को विश्वकप जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसका विभिन्न ११ शहरको १२ स्टेडियममा भयो । यस विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।