विश्वकप फाइनलका अनौठा क्षणहरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकप फाइनलका अनौठा क्षणहरु



रुसमा भएको विश्वकप फुटबलको फाइनल खेलमा केही छुटेन– विवादित निर्णय, खेल हुँदैगर्दा मैदानमा मानिस छिरेर अवरोध, विश्वकपको फाइनलमा पहिलो आत्मघाती गोल, पेलेपछि फाइनलमा पहिलो किशोर गोलकर्ता अनि हाँस्यास्पद गोलकिपिङ्ग कमजोरी ।

भरपुर मनोरञ्जन, विवाद, रोमाञ्चकता र उत्साह दिएर गएको छ, विश्वकप फुटबलको फाइनल । मस्कोमा आइतबार राति भएको फ्रान्स र क्राएसियाबिचको खेलपछि फ्रान्स फेरि विश्व विजेता बनेर उदाएको छ ।

उत्कृष्ट प्रदर्शन गरेर विश्वभरका समर्थकको नजरमा परेको क्रोएसियाले उसलाई कडा चुनौती दियो । दुई वर्षअघि घरेलु मैदानमा भएको युरोकपमा फाइनलमा पराजित भएको फ्रान्सले अहिले विश्वकप ट्रफी उचालेर त्यो हारको पीडा भूलेको मात्रै छैन नयाँ यात्राको सुरुवात पनि गरेको छ ।

२० वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा पहिलोपटक उपाधि उचालेको फ्रान्सले अहिले विदेशी भूमिमा पनि आफूलाई प्रमाणित गरेको छ । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर उपाधि जितेको यो खेल साँचो अर्थमा सम्झन लायक बनेको छ ।

धेरै गोल भएको फाइनल मध्ये एक


प्रायः विश्वकपको फाइनलमा धेरै गोल भएको पाइँदैन र गोलका लागि खेलको अन्तिम समयसम्मै पर्खनु परेका इतिहास छन् । तर यो विश्वकपमा सुरुदेखि नै गोल भयो । फ्रान्सको चार र क्रोएसियाको दुई गरी यो फाइनलमा ६ गोल भयो ।

यसअघिका चार विश्वकपको फाइनलमा भएका कुल गोल र यो बराबर हो । पछिल्लो पटक फाइनलमा दुई भन्दा बढी गोल भएको सन् १९९८ मा, जुन बेला घरेलु मैदानमा फ्रान्सले उपाधि जितेको थियो ।

सन् १९५८ यता विश्वकप फाइनलमा धेरै गोल भएको खेलमा परेको छ फ्रान्स र क्रोएसियाबिचको खेल । सन् १९५८ मा ब्राजिलले स्वीडेनलाई ५–२ ले हराएको थियो । यो विश्वकपमा ६४ खेलमा १६९ गोल भयो ।

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा १७१ गोल भएको थियो र नयाँ कीर्तिमान बनेको थियो । यस्तै सन् १९९८ को विश्वकपमा पनि १७१ गोल नै भएको थियो ।

भिएआरलाई भुल्न सकिँदैन


भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग गरिएको यो पहिलो विश्वकप फुटबल हो । समूह चरणका प्राय सबै खेलमा भिएआर प्रयोग भयो । त्यसपछि नकआउट चरणका अधिकांश खेलमा पनि यसले प्राथमिकता पायो ।

फाइनलमा यसको प्रयोग गरियो र फ्रान्सले पेनाल्टी पायो ।

सामुएल उमटिटीले इभान पेरिसिकको हात तर्फ कर्नर फिल्क्डि गरे, सुरुमा रेफ्रीले पेनाल्टी दिएनन्, तर भिडियो एसिस्टेन्ट रेफ्रीसँगको लामो छलफलपछि रेफ्री स्क्रिनमा रि–प्ले हेर्न गए अनि फ्रान्सलाई पेनाल्टी दिए ।

एन्टोनी ग्रिजम्यानले गोल गरे । तर धेरै मानिस भिएआरप्रति आक्रोशित छन् । धेरै पटक हेरेपटि रेफ्री नेस्तोर पितानाले पेनाल्टी दिएका थिए । तर धेरै फुटबल पण्डितले यो पेनाल्टीको निर्णय गलत रहेको बताएका छन् ।

ग्रिजम्यानले पेनाल्टीमा गरेको गोल यो विश्वकपमा भएको २२ औँ पेनाल्टी गोल हो । रुस विश्वकपमा २९ पटक पेनाल्टी प्रहार भयो र यो सन् १९६६ यताकै धेरै हो ।

फाइनलमा पहिलो आत्मघाती गोल


यो विश्वकपमा कुल १२ पटक आत्मघाती गोल भएको छ । त्यो भन्दा पनि यो विश्वकपको फाइनल खेलमा आत्मघाती गोल भयो, फाइनलमा आत्मघाती गोल भएको यो नै पहिलो पटक हो ।

क्रोएसियाका मारियो मान्जुकीले १८ औँ मिनेटमा नै आत्मघाती गोल गरेका हुन् । फ्रान्सका ग्रिजम्यानले प्रहार गरेको फ्रि–किक बल मान्जुकीले हेड गरेर क्लियर गर्न चाहन्थे, तर आफ्नै पोस्टमा गोल भयो र फ्रान्सले १–० को अग्रता लियो ।

यो विश्वकपमा सर्वाधिक गोलकर्ता ह्यारी केनले गरेको गोलको दोब्बर आत्मघाती गोल भयो ।

पेलेपछिका पहिलो किशोर गोलकर्ता


फ्रान्सका केलियन एमबाप्पे विश्वकपको फाइनल खेल्ने इतिहासको तेस्रो किशोर फुटबलर हुन् । उनी फाइनलमा खेलमा गोेल गर्ने दोस्रो किशोर खेलाडी बनेका छन् । १९ वर्षका एमबाप्पेले क्रोएसियासँगको खेलमा खेलमा एक गोल गरे ।

उनी ब्राजिलका पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बनेका छन् । पेलेले सन् १९५८ को विश्वकपको फाइनलमा एक होइन दुई गोल गरेका थिए ।

एमबाप्पेले यो प्रतियोगिताको सुरु तिर उत्कृष्ट प्रदर्शन गर्दै विश्वको ध्यान तानेका थिए । उनले अन्तिम १६ मा अर्जेन्टिनासँगको खेलमा दुई गोल गरेका थिए, जसले उनलाई पेलेपछि विश्वकपको एकै खेलमा दुई गोल गर्ने पहिलो किशोर खेलाडी बनाएको थियो ।

उनले विश्वकपमा चार गोल गरे र प्रतियोगिताको युवा खेलाडी अवार्ड पाए । एमबाप्पे अब विश्व फुटबलमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले लिँदै आएको स्थान कब्जा गर्नका लागि तयार रहेको फुटबल पण्डितले बताएका छन् ।

विचित्र गल्ती, हाँस्यास्पद गोल


४–१ ले पछि परेको अवस्थामा फ्रान्सका गोलरक्षकले अपत्यारिलो र विचित्र खालको कमजोरी गरे, जसले क्रोएसियालई लाइफ लाइन दियो ।

गएको सिजनको च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका गोलरक्षक लोरिस कारिउसले सम्भवतः सबैभन्दा खराब गोलकिपिङ्ग मिस्टेक गरेका थिए र रियल मड्रिडले गोल गरेको थियो ।

तर मस्कोमा आइतबार राति फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले विचित्रको गल्ती गरे ।

सामुएल उमटिटीले कप्तान पनि रहेका गोलरक्षक लोरिसलाई बल पास दिए । लोरिस नजिकै रहेका मान्जुकीलाई छक्याउन बलसँग क्याजुअल्ली खेलिरहे ।

लोरिसले बल हाने तर त्यो यस्तो थियो कि अघि रहेका मान्जुकीको गोडामा पुग्यो र त्यसलाई मान्जुकीले गोलमा परिणत गरे । यो निकै कमेडी गोल थियो ।

मैदानमा दौडिए दर्शक


रुसमा विश्वकप हुने भन्दा धेरैले चिन्ता व्यक्त गरेका थिए कि त्यहा रंगभेदी व्यवहार हुनेछ, गुण्डागर्दी हुनेछ र समलिंगी समर्थकमाथि हिंसा हुन सक्छ । तर प्रयोगिता निकै शान्त तरिकाले भयो ।

फाइनल खेलमा भने मैदानमा केही मानिस छिरे खेल भइरहँदा । रुसको पंक रक ग्रुप पुरी रिओटले त्यसको जिम्मेवारी लिएको छ । आफूहरुले मैदानमा छिरेर रुसमा भइरहेका धेरै राजनीतिक मुद्दामा विरोध जनाएको उनीहरुको भनाई छ ।

सुरक्षा स्टाफले उनीहरुलाई तत्काल मैदानबाट निकालेका थिए । मैदानमा छिरेका केही दुई टिमका खेलाडीसँग ठोक्किएका थिए ।