विश्वकप २०१८: किर्तिमान, गोल, कार्ड र सबै जानकारी - Himal Post Himal Post
  • २५ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 10 2024
Logo

विश्वकप २०१८: किर्तिमान, गोल, कार्ड र सबै जानकारी



रुसमा जारी विश्वकप फुटबलमा अहिलेसम्म ४८ वटा खेल भएका छन् । समूह चरणमा ३२ देशबिच यी खेल भएका हुन् । अब प्रतियोगिताका १६ खेल बाँकी छन् र १६ देश नै प्रतियोगितामा बाँकी छन् ।

अहिलेसम्म यो विश्वकपमा १२२ गोल भएका छन् । यी खेल गर्नका लागि सबै खेलमा गरेर ३६ हजार ३४९ पटक बल पास भएको छ ।

अहिलेसम्म तीनवटा रातो कार्ड तथा १५८ वटा पहेँलो कार्ड प्रयोग भएका छन् । अहिलेसम्म भएका खेलको औसत निकाल्दा हरेक खेलमा औसतमा २.५ गोल भएको छ ।

सर्वाधिक गोलकर्ताको कुरा गर्दा पाँच गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केन अघि रहेका छन् । त्यसपछि चार गोल गरेका बेल्जियमका रामेलु लुकाकु तथा चार गोल नै गरेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो रहेका छन् ।

यस्तै तीन गोल गरेका रुसका डेनिस चेरिशेभ र स्पेनका डिएगो कोस्टा चौथो र पाँचौँ स्थानमा छन् । अहिलेसम्म १३ खेलाडीले दुई दुई गोल गरेका छन् । यस्तै ६८ जना खेलाडीले एक एक गोल गरेका छन् । यसरी समग्रमा रुस विश्वकपमा अहिलेसम्म ८६ खेलाडीले गोल गरिसकेका छन् ।

टिमको कुरा गर्दा समूह चरणका आफ्ना तीन खेलमा सबै भन्दा धेरै गोल गर्ने टिम बेल्जियम हो । उसले तीन खेलमा ९ गोल गरेको छ । यस्तै इंग्ल्याण्ड र रुसले समान ८ ८ गोल गरेका छन् । क्रोएसियाले सात गोल गरेको छ भने स्पेनले ६ गोल गरेको छ ।

ब्राजिल, कोलम्बिया, उरुग्वे, स्वीडेन, पोर्चुगल, स्वीट्जरल्याण्ड तथा ट्युनिसियाले पाँच पाँच गोल गरेका छन् । विश्वकपमा सहभागी सबै टिमले कम्तिमा दुई गोल गरेका छन् ।

यो विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै पटक बल गोलमा परिणत हुनबाट जोगाउने गोलरक्षक मेक्सिकोका गुइलेर्मो ओचोए हुन् । उनले १७ पटक सुन्दर बचाउ गरेका छन् ।

यस्तै सबैभन्दा धेरै पटक गोलका लागि प्रयास गर्ने खेलाडी ब्राजिलका नेइमार हुन्, उनले १७ पटक पोस्ट प्रहार गरेका छन् । यो विश्वकपमा सबैभन्दा धेरै गोल भएको खेल बेल्जियम भर्सेस ट्युनिसिया हो । यो खेलमा सात गोल भएको थियो । खेलमा बेल्जियम ५–२ ले विजयी भएको थियो ।

यस्तै इंग्ल्याण्ड र पानामाबिचको खेलमा पनि सात गोल भएको थियो । यो खेलमा इंग्ल्याण्ड ६–१ ले विजयी भएको थियो ।

यस्तै अन्तिम १६ मा पुगेका तीन देशले मात्रै समूह चरणका तीनै खेल जितेका छन् । यस्तो करामत गर्ने देश उरुग्वे, क्रोएसिया र बेल्जियम हुन् ।

यो विश्वकपमा खेलेका इरानका एसाम एल हादारी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । उनले ४५ वर्ष १६१ दिन हुँदा विश्वकप खेलेका हुन् ।

यस्तै समूहचरणमा सबै भन्दा धेरै पेनाल्टी प्रहार हुने विश्वकप पनि यहि बनेको छ । ४८ खेलमा २४ पटक पेनाल्टी प्रहार भएको छ । यसअघि एउटै विश्वकपको समूह चरणमा १८ पटक पेनाल्टी प्रहार भएको थियो ।