क्रिस गेललाई पछि पारे वाट्सनले, चेन्नईको शानदार जित - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

क्रिस गेललाई पछि पारे वाट्सनले, चेन्नईको शानदार जित



इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजन शतक बनाउने क्रम सुरु भएको छ र यो रोकिने क्रममा देखिँदैन ।

जारी ११ औँ संस्करणमा किङ्गस इलाभेन पञ्जावका क्रिस गेलले बिहीबार बेलुका भएको खेलमा पहिलो शतक बनाएका थिए । त्यसको भोलिपल्ट शुक्रबार बेलुका भएको खेलमा चेन्नई सुपर किङ्गसका शेन वाट्सनले शतक बनाएका छन् ।

गेलले ६३ बलमा नटआउट १०४ रन बनाएका थिए । वाट्सनले त्यो भन्दा अघि बढेर ५७ बलमा ९ चौका र ६ छक्काको सहयोगमा १०६ रन बनाए ।

बिहीबार बेलुका पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनले हराएको छ । वाट्सनको शतकीय पारीमा चेन्नईले प्रस्तुत गरेको २०५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर तीन बलमा सबै विकेट गुमाएर मात्रै १४० रन बनायो ।

उसका लागि बेन स्टोकले ३७ बलमा ४५ तथा जोस बट्लरले १७ बलमा २२ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०४ रन बनायो । उसका लागि वाट्सनले १०६, सुरेश रैनाले २९ बलमा ४६ तथा डवेन ब्रावोले १६ बलमा नटआउट २४ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी तीन बलमा पाँच रन बनाएर आउट भएका थिए । जितपछि चार खेलमा तीनमा जित दर्ता गरेको चेन्नई ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै पाँच खेलमा तीनमा हार बेहोरेको राजस्थान चार अंकसहित पाँचौँ स्थानमा छ ।