कमिन्सले यसरी गरे वार्नरको उच्च प्रशंसा
टाउन्टन — अस्ट्रेलिया विश्वकप क्रिकेटमा विजय यात्रामा फर्किए पनि तीव्र बलर प्याट कमिन्सले खेलको अन्तिममा गरेको पाकिस्तानको विष्फोटक ब्याटिङबाट समयमै सचेत हुनुपर्ने बताएका छन् । आरोन फिन्चको टोलीले बुधबार खेल ४१ रनले जितेको थियो ।
पछिल्लो खेलमा भारतसँग पराजित भएको साबिक विजेता अस्ट्रेलियाले इंग्ल्यान्ड र वेल्समा जारी प्रतियोगितामा चारमध्ये तीन खेल जितेको छ । पाकिस्तानसँगको जितपछि अस्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ ।
३ सय ८ रनको लक्ष्य लिएर आएको पाकिस्तानलाई अस्ट्रेलियाले २००–७ को स्थितिमा पुर्याइदिएको थियो । त्यसमा कमिन्सले १० ओभरमा इकोनोमी बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिएका थिए । पाकिस्तानका कप्तान सरफराज अहमद र वहाब रियाजले आठौं विकेटमा ६४ रन जोडे । रियाजले तीव्र गतिमा ४५ रन बनाउँदा अस्ट्रेलियाको चिन्ता बढेको थियो । तर अन्तिम तीन विकेट २ रनको अन्तरमा लिँदै अस्ट्रेलियाले खेल जितेको हो ।
‘यसले के देखाउँछ भने अहिले जोकोहीले ब्याटिङ गर्न सक्छन्,’ २६ वर्षे कमिन्सले भने, ‘हामीले सोचेभन्दा खेलमा प्रतिस्पर्धा हुन पुग्यो । त्यसैले अन्तिमको केही विकेट लिँदा आनन्द आएको थियो । हामीले उनीहरूलाई केही मौका दिँदा तुरुन्तै खेलमा फर्किन पुगे । हाम्रा लागि यो राम्रो सबक बन्यो ।’
न्यु साउथ वेल्सका स्पिड स्टार कमिन्सले खेलको सुरुआतमै फखर जमानलाई आउट गरेका थिए । उनले इमाम उल–हकलाई आउट गर्दै अस्ट्रेलियालाई अर्को महत्त्वपूर्ण सफलता दिलाएका थिए । ५३ रन बनाएका हकलाई कमिन्सले विकेट पछाडि क्याच गराए । उनलाई आफ्नो वर्तमान फर्मसँगै डट बलको सफलताले अझ खुसी तुल्याएको थियो । उनको धेरै बलमा पाकिस्तानी खेलाडीले रन बनाउन सकेका थिएनन् ।
‘पछिल्ला केही खेलमा ममा आएको यो ठूलो सुधार हो । लेन्थमा बल राख्न सक्ने खुबीले ब्याट्सम्यानलाई रन हान्न गाह्रो बनाएको छ,’ कमिन्सले भने, ‘१ रनहरू सजिलै बनाउन दिने हो भने ३ सय रनको लक्ष्य सजिलै पूरा हुन्छ । त्यसैले १ रन रोक्नु ठूलो हुन्छ । एउटा मात्र बाउन्ड्री खर्चिदा पनि १०–११ रन नभएर ५–६ रनमात्र दिन सक्नुपर्छ ।’
डेविड वार्नरको शतकमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले खेलमा पकड लिएको थियो । बल टेम्परिङमा एक वर्षको सजाय काटेर आएका वार्नरको कमिन्सले उच्च प्रशंसा गरे ।