ओलीसँग वार्ता गर्नुअघि नेपाल समुहको ‘आर्मअप मिटिङ’
काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीले नेता नेपाललाई वार्ताका लागि बोलाएपछि उनीहरूको ‘आर्मअप’ छलफल चलिरहेको बताइएको छ ।
नयाँ बानेश्वरस्थित अर्याल होटेलमा नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरू छलफलका लागि जुटेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटारमा भेटका लागि बोलाएका थिए । नेता नेपालले बालुवाटारमा होइन पार्टी कार्यालयमा बसौँ भनेपछि तय भएको वार्ता अघि रणनीति तय गर्ने नेपाल समूह छलफलमा जुटेको हो ।
पार्टीभित्र संकट देखिएपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई वार्ताका लागि बोलाएका हुन् । ओलीसँग वार्ता गर्न चारजना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । को को जाने भन्नेबारे सार्वजनिक भएको छैन ।
ओली समुहबाट भने ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा जाने बताइएको छ ।