वडा कार्यालयको जग्गा छनौटका लागि सुझाव समिति गठन
ललित जाग्री / देवकलिया,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका वडा न. ५ को वडा कार्यालयको जग्गा छनौटको बिषयमा पटक पटक छलफल गरे पनि सहमति नभए पछि वडा सदस्य लक्ष्मण चौधरीको संयोजकत्वमा जग्गा छनौटको लागी सुझाव समिति गठन गरिएको छ।
घोडाघोडी नगरपालिका वडा न. ५ का वडाध्यक्ष प्रेम बहादुर रोकायाको अध्यक्षतामा हरियाली सामुदायिक वन उपभोक्ता समुह देवकलियामा शनिबार वडा भेला गरी वडा कार्यालयको जग्गा छनौटको बिषयमा छलफल गरिएको थियो ।
छलफल बाट जग्गा छनौटको बिषयमा सहमति नजुटे पछि भेलाले सुझाव समिति गठन गरेको हो । जसको संयोजकमा घोडाघोडी नगरपालिका वडा न. ५ का वडा सदस्य लक्ष्मण चौधरी, सदस्यहरुमा जनप्रिय आधारभूत विद्यालय फारमका शिक्षक बलराम जोशी, देवकलिया गाँउका भल्मान्सा राजाराम चौधरी, लालीगुराँँस सामुदायिक वन उपभोक्ता समुह देवकलियाका अध्यक्ष गणेश बहादुर चन्द र सामाजिक अगुवा मदन बोहरा रहेका छन्।
सुझाव समितिले वडा कार्यालयको लागि जग्गा छनौट गरी ५ दिन भित्र सुझाव सहितको प्रतिवेदन बुझाई सक्नु पर्ने वडा भेलाले निर्णय गरेको हो। भेलामा घोडाघोडी नगरपालिका वडा न. ५ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सामुदायिक वनका प्रतिनिधि, भल्मान्सा, शिक्षक,पत्रकार लगायतको उपस्थिति रहेको थियो।