आठ दिनभित्रै मतपरिणाम सार्वजनिक गर्न यस्तो छ आयोगको तयारी
काठमाडौं-
निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको खबर आजका पत्रपत्रिकामा छापिएका छन् ।
परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ ।
दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ । आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ ।
उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।
यस्तो छ गणना व्यवस्थापन
-प्रतिनिधिसभा प्रत्यक्ष, प्रदेशसभाका दुई वटा र समानुपातिकतर्फ पनि प्रनिनिधिसभा र प्रदेशसभाको अलगअलग गरी चार वटा मतगणनास्थल हुनेछन् ।
-एकै समयमा सबै तर्फको गणना गर्न नसकिए प्रत्यक्ष प्रणालीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको गणना एकै पटक गरिनेछ ।
-प्रत्यक्षको गणना सकिएपछि समानुपातिक तर्फको गणना गर्ने आयोगको तयारी छ ।
-मतगणना कार्यमा शिक्षक बाहेकका कर्मचारी परिचालन हुनेछन् ।
-अनुगमनमा खटिएका तालिमप्राप्त कर्मचारीलाई गणनाका लागि परिचालन गरिनेछ ।
-आयोगले निर्वाचन प्रयोजनका लागि २ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ ।