असफलता विराट कोहलीको, आलोचना धोनीको किन ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

असफलता विराट कोहलीको, आलोचना धोनीको किन ?



एजेन्सी । शानदार विकेटकिपिङ र विस्फोटक ब्याटिङ गर्दै भारतीय क्रिकेट टोलीमा प्रवेश पाएका महेन्द्र सिंह धोनीको खेलजीवनमा यतिबेला विभिन्न बहस चलेका छन् ।

युवा खेलाडीको रुपमा प्रवेश गर्दै कप्तानी समेत सम्हालेका धोनी अहिले ३८ वर्षका भइसकेका छन् । भारतीय क्रिकेट टोलीको सबैभन्दा सफल कप्तान बनेका धोनीले ३ सय ५० एकदिवसिय अन्तर्राष्ट्रिय खेल्दै १० हजार ७ सय ७३ रन पनि बनाएका छन् भने ९८ वटा टी–२० अन्तराष्ट्रियमा १ हजार ६ सय १७ रन बनाएका छन् ।

त्यस्तै ९० वटा टेष्ट खेल्दै ४ हजार ८ सय ७६ रन बनाएका धोनीको खेल शैली पछिल्लो समय आलोचित हुँदै आइरहेको छ ।

भारतलाई सन् २०११ को विश्वकप र सन् २००७ को टी–२० विश्वकप दिलाएका धोनीले उमेर ढल्केपनी सन्यास लिने मनसाय नबनाएपछि उनलाई अनौपचारिक तबरबाट खेल जीवन टुंग्याउन दबाव दिन सुरु गरिएको थाहा भएको छ ।

हालसालै इंग्ल्याण्डमा सम्पन्न विश्वकप नै धोनीको अन्तिम विश्वकप रहेको चर्चा चलेपनी धोनीले अहिलेसम्म यसबारे केहि बोलेका छैनन् । उनले यसबारेमा छनौटकर्ताहरुसँग पनि सल्लाह नगरेको बताईएको छ ।

उनलाई दबाव बढाउने कि के गर्ने भन्ने निर्णय छनौटकर्ताहरुले आगामी जुलाई १९ मा निर्णय लिन सक्ने बुझिएको छ । आगामी अगस्ट ३ देखी सेप्टेम्बर ४ सम्म चल्ने वेष्ट इन्डीज विरुछको तीन टी–२०, तीन एकदिवसिय अन्तर्राष्ट्रिय र दुई टेष्ट शृंखलाको लागि टोली छनौटमा उनलाई के गर्ने भन्ने विषयमा निर्णय हुनसक्ने आँकलन गरिएको छ ।

धोनीले आफ्नो अन्तिम खेल कुन हुने भन्ने विषयमा अनौपचारिक वार्ता गरेको वा नगरेको पुष्टी नभएपनी उनलाई सम्मानजनक बहिर्गमन दिनसक्ने विश्लेषण भएको छ । यसको लागि धोनीले सम्भावित सन्यास मिति भने छनौट समितिलाई दिनुपर्ने हुन्छ ।

पछिल्लो समय अपेक्षाकृत खेल्न नसकेका धोनीलाई टोलीमा राख्ने वा नराख्ने विषयमा विवाद हुने गरेको छ । कतिपयले धोनीले सन्यास लिइ युवा खेलाडीलाई मौका दिनुपर्ने आवाज उठाइरहेका छन् भने कतिपयले धोनीको अनुभवको उपयोग गर्नुपर्ने भनिरहेका छन् ।

धोनीले विकेट किपरको रुपमा भारतीय टोलीमा खेल्ने थालेपछि भारतले नयाँ तथा सफल विकेट किपर पाउन सकेका छैनन् । विकेट किपरहरु ब्याटसम्यानको रुपमा मात्र भारतीय टोलीमा पर्न सकेका छन् भने ती खेलाडीहरुले स्टम्प पछाडि बस्ने मौका पाएका छैनन् ।

इंग्ल्याण्डमा भएको विश्वकपमा धोनीले विकेट किपरको भुमिका निभाइरहँदा अन्य तीन युवा विकेटकिपरहरु केएल राहुल, दिनेश कार्तिक र रिसभ पन्तले विशुद्ध ब्याटसम्यानको रुपमा खेलेका थिए ।

धोनी सफल भइरहँदा यसबारे खासै विवाद नरहेपनी पछिल्लो समय धोनीको खेल शैली नै आलोचित हुन थालेको छ । विशेषगरी विश्वकपको फाइनलमा उनले ७ नम्बरमा ब्याटिङ गर्नु, अफगानिस्तान विरुद्ध दबेर खेल्नु र अष्ट्रेलिया विरुद्ध ३ सय माथीको लक्ष्य पछ्याउँदा ५ विकेटमात्र गुमाइ लक्ष्य पुरा गर्ने प्रयास नै नगर्नुले पनि धोनी आलोचित भएको बताईएको छ ।

यद्यपि यो खेलमा भारतीय टोलीका कप्तान विराट कोहलीले पनि अत्यन्तै लज्जास्पद खेलेका थिए । जबकी उनी टोलीका कप्तान हुन् र खेल सकिने बित्तिकै धोनी र ऋशव पन्तको टाउकोमा खेल हार्नुको मुख्य दोष थोपरे ।