जब वृद्धाश्रममा नातिनीले हजुरआमा भेटिन् - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जब वृद्धाश्रममा नातिनीले हजुरआमा भेटिन्



नयाँ दिल्ली- भनिन्छ, एउटा तस्बिरले हजार शब्दभन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सनले धेरैको ध्यान तानेको छ।

पोस्ट गरिएको तस्बिरमा लेखिएको छ- एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धाश्रम लगेको थियो, जहाँ एउटी छात्राको आफ्नी हजुरआमालाई भेटिन्।

ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदारकहाँ गएर बस्ने गरेको बताएका थिए। के यस्तै खालको समाज बनाइरहेका छौं हामी?

दुई दिनयता यो तस्बिर यति भाइरल भएको छ कि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र क्रिकेटर हरभजन सिंहले समेत आफ्नो फेसबुर र ट्विटरमा सेयर गरेका छन्।

के यो तस्बिरमा लेखिएको क्याप्सन सही हो? तस्बिर अहिलेकै हो कि पुरानो?

गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले तस्बिरको कथा यसरी सुनाएका छन् :

२००७ सेप्टेम्बर १२ । मेरो जन्मदिनको एकदिन पहिले। म बिहान ९ बजे घरबाट निस्कन लागेको थिएँ। श्रीमतीले भनिन्, ‘राति घर फर्किनु। किनकि आज राति १२ बजे केक काट्नुपर्छ।’

म खुसी हुँदै घरबाट निस्किएँ। केहीबेरमै मेरो मोबाइलमा अहमदाबादको मणिनगरस्थित जिएनसी स्कुलबाट फोन आयो।

प्रिन्सिपल रीटा बहन पाण्ड्याले भनिन्, ‘म आफ्नो स्कुलका नानीहरु लिएर वृद्धाश्रम जाँदैछु। के तपाईं यो भ्रमणको फोटो कभर गर्न सक्नुहुन्छ?’

म तयार भएँ र घोडासरको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ। त्यहाँ एकातिर नानीहरु थिए भने अर्कातिर वृद्धाहरु। मैले वृद्धाहरुको साथ बस्न ती नानीहरुलाई आग्रह गरेँ ताकि राम्रो फोटो खिच्न सकूँ।

जब उनीहरु नजिकै थिए, एक छात्रा वृद्धालाई देख्नासाथ सुँकसुँक गर्न थालिन्। अचम्म त यो थियो कि नजिकै रहेकी वृद्धा पनि ती छात्रालाई देखेर उसैगरी रुन थालिन्। त्यसपछि ती छात्रा हतारमा दौडिएर वृद्धासँग गइन् र अँगालोमा कस्सिइन्। यो देखेर त्यहाँ उपस्थित सबैजना अचम्मित भए।

मैले ठिक त्यही बेला यो दृश्यलाई क्यामेरामा कैद गरेँ। मैले ती वृद्धासँग बुझ्न चाहेँ। उनी रोइरहेकै थिइन्। पछि थाहा भयो- उनीहरु हजुरआमा र नातिनी रहेछन्।

ती छात्राले पनि वृद्धा आफ्नो ‘बा’ भएको बताइन्। गुजरातीमा हजुरआमालाई बा पनि भन्ने गरिन्छ। ‘हजुरआमा बिना मेरो जिन्दगी शून्य लाग्छ,’ उनले आँसु पुछ्दै भनिन्। उनले यो पनि सुनाइन् कि बुवाले हजुरआमा नातेदारकहाँ बस्न गएको बताएका थिए। तर वृद्धाश्रम पुगेपछि थाहा भयो, हजुरआमा कहाँ गएकी रहिछन्!

हजुरआमा-नातिनीको यो सुखद मिलन देखेपछि त्यहाँ भएका अरु वृद्धा र उनका साथीहरुका आँखा रसाएका थिए। त्यो भावुक माहोललाई सामान्य बनाउन नानीहरुले भजन गाउन थाले।

यो तस्बिर पहिलो दिन दिव्य भाष्कर पत्रिकाको पहिलो पृष्ठमा छापिएको थियो। त्यसपछि पूरा गुजरातमा यही तस्बिरलाई लिएर निकै चर्चा पनि भयो। यो तस्बिरले धेरैलाई तरंगित बनाइदियो।

मेरो ३० वर्षको करिअरमा पहिलो पटक यस्तो घटना भयो कि तस्बिर छापिएको पहिलो दिन एक हजारभन्दा बढीले मलाई फोन गरे। त्यो समय पूरै राज्यमा यो तस्बिरको विषयलाई लिएर चर्चा भएको थियो।

जब दोस्रो दिन म अर्का पत्रकारको साथमा ती वृद्धाको अन्तर्वार्ताका लागि त्यहाँ पुगेँ। उनले भनिन्, ‘म आफ्नै इच्छाले वृद्धाश्रम आएकी हुँ। इच्छाले नै बसिरहेकी छु।’ बिबिसी हिन्दीबाट