चीनद्वारा अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

चीनद्वारा अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग



एजेन्सी- चिनियाँ सरकारले न्यूयार्क स्टेटलाई १,००० भेन्टिलेटर सहयोग गरेको शहरका गभर्नर आन्ड्रिउ कुइमोले शनिबार बताएका छन् ।

यो सहयोग सामग्री शनिबार जोन एफ केनेडी इन्टरनेशनल विमानस्थलमा आईपुगेको छ ।

“यो ठूलो सहयोग हो र यसले हामीलाई ठूलो फाइदा हुनेछ,” कुइमोले पत्रकार सम्मेलनको अवसरमा बताए । स्टेट अफ ओरेगनले पनि न्यूयोर्कलाई १४० भेन्टिलेटर पठाउन लागेको छ । हाल न्यूयोर्क शहर कोरोनाभाइरसको महामारीको इपिसेन्टर बनेको छ ।

न्यूयोर्कले चिनियाँ कम्पनीहरुसँग व्यवसाय संचालन गरेको र चीन अत्यावसकिय चिकित्सा उपकरणका लागि स्रोत भएको कुइमोले बताए । उनले चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाका संस्थापकहरु ज्याक मा र जोइ साईका साथै न्यूयोर्कमा रहेको चाइनिज कन्सुल जनरल हुवाङ पिङलाई समेत धन्यवाद दिएका छन् ।

न्यूयोर्कले १७,००० भेन्टिलेटरको अर्डर गरेको तर यो पूर्ति हुन नसक्ने कुइमोले बताए । यी मेसिनका लागि हाल विश्वमा तीव्र प्रतिस्पर्धा रहेको छ र विश्वव्यापी अभाव पनि रहेको छ । अमेरिकिामा सालाखाला १०,००० भेन्टिलेटरको मौज्दात रहेको छ ।

न्यूयोर्कमा कोरोनाभाइरसको केसमा विनासकारी रुपमा वृद्धि भइरहेको छ । गत शुक्रबारदेखि राज्यको पुष्टि भएको केसमा झन्डै दोब्बरले वृद्धि भएको छ । शनिबारसम्म यो राज्यमा १,१३,७०४ संक्रमित र ३,५६५ मृत्यु भइसकेको गभर्नरको कार्यालयले जनाएको छ ।