भ्यालेन्टाईन, रातो स्कुटर अनि परदेशी !  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

 भ्यालेन्टाईन, रातो स्कुटर अनि परदेशी ! 



दिपक घिमिरे 

नेपाल हुदा सम्म भालेन्टाईन भन्ने पर्वको बारेमा रनेदाई जानकार थिएनन । दुबई छिरेपछी उनका लागी नेपाली पर्वको निक्कै महत्व हुन्थ्यो । प्रत्यक बर्षको दशैं तिहारमा घरकी भाउजुलाई गिफ्ट किनेर पठाउथे , कहिले मोबाईल त कहिले ल्यापटप ।

आज भन्दा पन्द्र बर्ष अघि दुबई छिरेका हुन रनेदाई । चार बर्ष अघिको छुट्टिमा नेपाल गएर धुमधाम सँग बिहे गरे उनले । बिहे गर्नु भन्दा अघि बा आमा अनि भाइ बहिनीलाई गिफ्ट पठाउने रनेदाईले अस्ति मलाई सुटुक्क सोध्दै भने “ तेरो भाउजुले  भ्यालेन्टाईनमा गिफ्ट मागेकी छे , के दिन्चन यस्तो बेला ? केही थाहा भएन , भन त बे ! ”

पन्द्र बर्ष अघि दुबई छिरे पनि रनेदाई निक्कै सोझा मान्छे हुन । उनलाई लप्पन छप्पन केही आउदैन । धेरै पटक फोनमा अलिकती बाठो बन्न भाउजुले सिकाउदा रनेदाई खिस्स हास्दै भन्छन “ यहि सोझो छु र त अरबी मालिकले मन पराउछ नि लाटी , ससुरा बा ले पनि मेरो सोझोपना देखेरै तिम्रो हात थमाई देका हुन क्यारे । बाठो कौवाले गुँ खान्च भन्ने त थाहा पाएकी छ्यौ नि । ”

उनी हरेक पटक दुई बर्षको अन्तरमा नेपाल जान्छन । दशै तिहारको मौका पारेर अक्सर उनी नेपाल पुग्छन । उनि घरबाट भाउजूले फोन गरेको दिन खुशीले गद गद हुन्छन । तर आज खुशी सँग सँगै हल्का निराश पनि देखिए । निरास हुने कुरो भ्यालेन्टाईन गिफ्टकै कारण होला भन्ने मैले सहजै अनुमान लगाए ।

दशैं तिहारमा गिफ्ट पठाउने रनेदाईले भ्यालेन्टाईनमा बुढिका लागी गिफ्ट किन्ने सपना देख्न थालेपछी अस्तिको शुक्रबार मैले रनेदाईलाई भने “ यो उमेरमा के को भ्यालेन्टाईन गर्चौ बुढा ! उमेरले नेटो काट्यो , अब पर्दैन भ्यालेन्टाईन गिफ्ट सिफ्ट । ”

रनेदाईले मेरो पाखुरा समातेर अलि पर पु‍¥याउदै भने “ भ्यालेन्टाईन डे भन्या के हो ? के गिफ्ट दिन्छन र बे ? लाज त हुदैन नि ? ”

मैले आत्तिएका रनेदाईलाई सिमेन्टको ब्लकमा बसाउदै भने “ यो पश्चिमाहरुले मनाउने एउटा प्रेम दिवस हो । प्रेम गर्ने जोडीहरुले आफ्ना प्रेमी लाई गिफ्ट दिन्चन , लिन्छन तर तपाईं हामी जस्ता बुढालाई यस्को केही महत्व छैन दाइ । ”

उनी मुसुक्क हास्दै भने “ प्रेम गर्नेहरुको पर्व रैछ , मैले तेरी भाउजू लाई अति माया गर्छु कान्छा । यो पनि त प्रेम नै हो नि ! हैन र ? उनले पनि मलाई निक्कै माया गर्छिन , म भ्यालेन्टाईनमा उसको मन दुखाउन चाहदैन यार । ”

रनेदाई सेन्टी देखिए , उनले मेरो हात समाउदै भने “ प्लिज कान्छा ! अरु कसैलाई यो कुरा नसुनाएस , तेरो भाउजू लाई के किन्दिम भन त ? ”

रनेदाईले भाउजू लाई अति माया गर्दथे । उनी भ्यालेन्टाईनमा भाउजू लाई केही न केही उपहार दिने मुडमा थिए । मैले एकछिन सोचेजस्तो गरेर भने “ भाउजुलाई एउटा स्कुटी किन्दिनुस दाइ । ”

रनेदाईको मुहार चम्कियो । उनी खुशी हुँदै भने “ ठिक भनिस ! पोर सालको छुट्टिमा उसले यो कुरा गरेकी हो , पैसा पठाईदिनु प‍¥यो । उनी आफै रोजेर किन्चिन , हैन त ? ”

अन्ततः यो पटकको भ्यालेन्टाईनमा भाउजुले स्कुटी उपहार पाउने भैन ।

दुबईको बालुवामा तातिएर निस्केको पसिना बेचेर रनेदाईले जम्मा गरेको पैसा सुटुक्क भाउजुको नाममा पठाउने बिचार रनेदाईले गरे । उनी खुशी हुँदै डिउटीमा खटिए ।

बेलुका खाना खाएर म आफ्नै एक तले बेडमा पल्टेर मोबाईलमा क्याण्डिक्रस गेम खेल्दै थिए । मेरै तल्लो बेडमा पल्टेका रनेदाईले मलाई कोट्याउदै भने “ एक छिन बाहिर हिड त , सल्लाह गर्नु पर्ने भो । ”

निद्रा लाग्ने बेला रनेदाईले बाहिर हिड भनेसी मलाई अल्छी लागेरै भएपनी बाहिर निस्किए । पर्खाल बाहिर पु‍¥याएर रनेदाईले मोबाईल माग्दै भने “ खै तेरो मोबाईलमा स्कुटीको मूल्य सर्च गर त । ”

एक छिन सोचे जस्तो गरेर भने “ उनले हिरो कम्पनीको के जाती स्कुटी भन्दै थिइन , रातो कलरमा चाहियो रे । ”

मैले गुगलमा ‘ होन्डा डियो स्कुटर प्राईस इन नेपाल ’ लेखेर सर्च गरे । सबै हेरेपछी उनलाई भने “ दाइ ! त्यही एक सत्तरी जति पर्छ । ”

उनी झस्किए , “ कति भन्छ ? ”

मेरो मोबाईल थुत्दै हेर्न थाले ।

पाँच मिनेट मौन बसेर मोबाईलमा हेरिसकेपछी मलाई मोबाईल दिदै भने “ म सँग जम्मा जम्मी त्यै ढेड लाख जति छ । बाकी त सापटी दे न । ”

मैले हुन्छ भन्ने ईसाराले मुन्टो हल्लाएपछी उनले गोजी बाट पैसा र एउटा कागजको टुक्रा निकाल्दै भने “ यो पाँच हजार तीन सय दिराम छ अनि यो चिर्कुटोमा चै उनको नाम र नम्बर छ । बाकी अपुग पैसा तैले हालेर एक असी जति पठाईदे है भाइ । बचेको पैसा उनैले राखुन । ”

मैले पैसा र चिर्कुटो हातमा लिए । अनि कोठामा गयौ ।

भ्यालेन्टाईन डे आउन अझै धेरै बाकी थियो । बिहानै डिउटी जाने बेला रनेदाईको पैसा भाउजुकै नाममा पठाईदिए । पैसा पठाएको स्लिप हातमा लिदै रनेदाईले भने “ कसैले देखेन नि कान्छा ? ”

मैले नाई को इसारामा मुन्टो हल्लाईदिए ।

उनले ढिला नगरी भाउजू लाई पैसाको कोड नम्बर टिपाई दिए ।

उताबाट भाउजू कति खुशी भैन थाहा भएन तर यता रनेदाई चै युद्ध जितेर बाचेको सिपाही जस्तै खुशी देखिन्थे । अन्त्यमा मोबाईल बाट चुम्मा साटासाट गरेर मोबाईलमा गफ सकिए ।

रनेदाईले भाईको लागी गिफ्ट नकिनेको बर्षौ भयो , बाको मोबाईल बिग्रेर उस्तै अबस्थामा छ रे । कहिले काहीँ बा सँग गफ गर्नु पर्दा उनी भाउजू लाई फोन गर्छन अनि बा लाई दिन भन्छन । बुढी भएकी आमालाई त के गिफ्ट चाहियो र । उनी बर्षमा एक झल्को रनेदाईलाई हेर्न पाउ भन्दै भगवान पुकार्छिन । न मोबाईलको लोभ न अरु गिफ्टको सपना ! बस प्रत्यक बर्ष रनेदाईले घर आगन कुल्चिय आमाको अनुहार उज्यालो भैजान्छ ।

चार बर्ष अघि सम्म घरपरिवारको लागी मरिहत्ते गर्ने रनेदाई चार बर्ष यता बुढीकै लागी मरिहत्ते गर्दछन । बाध्यतामा भाइ , बा आमा लाई फोन गर्छन नत्र बुढी सँगै हेल्लो हाई , उनैलाई टाटा बाई ।

फेरियको को हो ? समय हो कि रनेदाई हो ? म आफै अचम्म छु । दुबईको हावा पानीले रनेदाई फेरिन्थे भने एघार बर्ष सम्म उनी उस्तै थिए जस्तो नेपालमा थिए । अब समय फेरियो भनौ भने रनेदाई उस्तै छन । समय पनि हाम्रा लागी उस्तै छ ।

सोच्दा सोच्दै दिनहरु बित्दै गए । भाउजूका लागी सुटुक्क पुगेको पैसा भाउजुले पनि सुटुक्कै निकालिछन । अनि सुटुक्कै गएर स्कुटी किनिछन ।

श्रीमतीका लागी संसार भरको खुशी किन्ने हिम्मत राख्ने रनेदाई दैनिक तातो बालुवामा पसिना बेचिरहे , उता भाउजुले रातो स्कुटी कुदाईरहिन ।

‘ मेरो बुढाको भ्यालेन्टाईन गिफ्ट ’ भनेर फेसबुकमा फोटो पोष्टिएकि भाउजुलाई रनेदाईले मेरै मोबाईल बाट धेरै पटक चुमे । उता भाउजू लाई त्यो फिल भयो भएन थाहा भएन तर उनले भाउजुलाई गरेको प्रेमको फिल मेरो मुटुले पनि गर्न भ्यायो ।

आज भ्यालेन्टाईन डे !

रातो स्कुटर चढेर बजार निस्केकी भाउजु राती अबेर सम्म घर नफर्केपछी रनेदाईको भाईले राती नौ बजे फोन गरे । फोनमा सामान्य कुरा गर्दैमा आत्तियका रनेदाईले मलाई बाहिर बोलायर घरको अबस्था बारे बताए ।

एक हप्ता अघि स्कुटी गिफ्ट पाएकी भाउजू भ्यालेन्टाईन डे कै दिन टाप कसिछन ।

कतै काममा फसेकी होलीन या कतै अप्ठ्यारोमा परेकी होलिन भन्दै रनेदाईले एक दिन चित्त बुझाए ।

अर्को दिन पनि घरमा आईनन रे , फोन स्विच अफ छ रे । घर बाट भाईले यस्तै खबर पठाएपछी रनेदाई धेरै आत्तिए । डिउटी समेत जान मानेनन । उनको अबस्था देखेर मैले पनि आज छुट्टी लिए ।

सयौ कल फोन आफ्ना अनि आफन्तलाई गरेर थाकेका रनेदाई सुईए सुस्केरा हाल्दै चुरोट सल्काउथे अनि स्वाट्ट तान्दै आफु माथी धुवा उडाउथे । एक पछि अर्को गर्दै एक बट्टा चुरोट सकेका रनेदाईले बेलुका पर्न थाल्दा मलाई भने “ एक बोतल रक्सी ल्याईदे । म यो पीडा भुल्न सक्दैन , दारु ले भुलाउछ कि । ”

साच्चै रनेदाई निक्कै पिडामा थिए । आफ्ना लाई आँखा चिम्लेर बिश्वास गर्नुको परिणाम आज उनले बेहोर्दै थिए । बा आमा अनि भाईलाई भुलेर बुढिलाई गरेको मायाको बदला के पाए मैले भन्दै रुदै थिए ।

एक बोतल रक्सी सकेर आधा हुँदै थियो , उनको मोबाईलमा म्यासेज आयो । दारुको नशाले आँखा लठ्ठिएका रनेदाईले मोबाईल मेरो तर्फ फ्याक्दै भने “ ओए ! म्यासेज पढेर सुना । ”

उनको मोबाईलमा आएको म्यासेज पढेर सुनाउन मन त थियन तर उनले बाध्य पारेपछी सुनाईदिए , लेखिएको थियो “ सम्पती दियौ , माया दियौ तर जवान श्रीमतीको चाहना पूरा गर्न सकेनौ । त्यसैले तिम्रो जीवन बाट टाढा भएको छु । मलाई नखोज्नु । ”

मैले म्यासेज पढेर सुनाउदा सुनाउदै रनेदाई निदाईसकेछन । उनले सबै सुने या सुनेनन , थाहा भएन तर म चै रनेदाईको पीडा सम्झेर भावुक भए अनि रनेदाईलाई बिस्तरामा पल्टाएर माथी उक्लिए ।