महंगीले जनताको ढाड सेकिएका बेला दशैँको मुखैमा सवारी भाडा वृद्धि

काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । हिजो बसेको सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको हो ।
असोज ५ गतेदेखि खोल्ने भनिएको दशैँको अग्रिम टिकट बुकिङ व्यवसायीले इन्धनको मूल्यवृद्धि र भाडा समायोजनको समस्या देखाएर रोकेका थिए । केही समयअघि मात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।
पेट्रोलमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २–२ रुपैयाँ वृद्धि भएसँगै यातायात व्यवसायी थप आन्दोलित भएका थिए । दशैँको मुखैमा व्यवसायीले भाडा वृद्धिको माग राखेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारण जनलाई सास्ती हुने भन्दै सरकार भाडा बढाउन बाध्य भएको छ । अन्य कर तथा महंगीले जनताको ढाड सेकिएका बेला दशैँको मुखैमा सवारी भाडा वृद्धि हुँदा जनता थप मारमा परेका छन् ।
यसले सरकार पनि व्यवसायीकै पक्षमा रहेको देखिएको छ । यसअघि उनीहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन समेत सरकारलाई अल्टिमेटम दिएका थिए । तर सरकार मूल्यवृद्धि फिर्ता लिन तयार नदेखिएपछि यातायात व्यवसायी महासंघले अग्रिम बुकिङ नै रोक्ने निर्णय गरेको थियो

