नेपाल ल्याउने भनिएको भ्याक्सिन भारत सरकारले निर्यात गर्न रोक लगायो
काठमाडौं- नेपाल ल्याउने तयारी गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतले निर्यातमा रोक लगाएको छ ।
विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिन निर्यातमा भारतले रोक लगाएको हो ।
भारतले हालैमात्र यो भ्याक्सिनको आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अक्सफोर्डको कोरोना भ्याक्सिनलाई बेलायत लगायत अन्य कैयौं देशले पनि अनुमति दिएका छन्।
सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन निर्यातमा भारत सरकारले रोक लगाएको बताइएको छ । सिरम इन्स्टिच्युट अफ इन्डिया यो भ्याक्सिनको मुख्य आपूर्तिकर्ता हो।
पहिले आफ्नो देशका नागरिकलाई सुरक्षित राख्न भन्दै सरकारले भ्याक्सिन निर्यातमा रोक लगाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।
गत साता भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय भ्याक्सिन निर्माता कम्पनी र सरकारी अधिकारीहरूसँग कुराकानी गरेका थिए।
आचार्यले भारतमा कोरोना भ्याक्सिन बनाइरहेको सिरम इन्स्टिच्युटका एक वरिष्ठ अधिकारी र भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तसँग कुराकानी गरेको बताएका थिए।
सिरमका अधिकारीहरूसँगको भेटपछि राजदूत आचार्यले भनेका थिए, ‘सिरम इन्स्टिच्युटको उत्पादन क्षमता निकै धेरै छ। यसले नेपालको आवश्यकता पूरा गर्न सक्छ। हामी सिरमसँग कुराकानी गरिरहेका छौं। उनीहरू नेपाललाई भ्याक्सिन उपलब्ध गराउन सकारात्मक छन्।’
गत महिना काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव हर्ष श्रृंगलाले नेपालको आवश्यकता भारतको प्राथमिकता हुने बताएका थिए।
राजदूत आचार्यका अनुसार सिरमका प्रमुख अमिताभ कान्तले नेपाललाई भ्याक्सिन उपलब्ध गराउने कुरालाई कम्पनीको प्राथमिकता दिने कुरामा प्रतिवद्धता जनाएका थिए। तर, अब सरकारले नै निर्यातमा रोक लगाएपछि यो सम्भावना देखिएको छैन।