रुसले बनाएको भ्याक्सिनबारे बिश्वास नहुनुका यस्ता छन् आधा दर्जन कारण
एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको घोषणा गरेका छन् । मंगलबार यो घोषणासँगै संसारभर रुसी भ्याक्सिनलाई शंकाको दृष्टिले हेरिएको छ ।
भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि मान्यता दिएको छैन । यो भ्याक्सिनमा किन धेरै प्रश्न गरियो त ? भ्याक्सिनका विषयमा मुख्य ६ वटा प्रश्न उठेका छन् ।
यी हुन् मुख्य ६ कारण
१.रुसले तयार गरेको भनेको भ्याक्सिनमा प्रश्न उठ्नुको मुख्य कारण यो भ्याक्सिनका विषयमा सार्वजनिक गर्नूपर्ने विभिन्न विषय सार्वजनिक गरिएको छैन । चीन, बेलायत र अमेरिकाले भ्याक्सिनका विषयमा जसरी विवरण सार्वजनिक गरेका थिए, यो भ्याक्सिनको जानकारी दिइएको थिएन ।
सामान्यतया पब्लिक डोमेनमा परीक्षणदेखि यसको नतिजासम्मका विवरण सार्वजनिक गर्नूपर्नेमा त्यसो गरिएको छैन । यहाँसम्म कि यो भ्याक्सिन कुन चरणमा कति जनामा परीक्षण गरिएको थियो भन्नेसमेत उल्लेख गरिएको छैन । भ्याक्सिनले कति जनाको ज्यान बच्यो वा समस्या निम्तियो भन्ने पनि जानकारी दिइएको छैन । त्यसैले यसमा प्रश्न उठेको छ ।
२.कुनै पनि भ्याक्सिनको तेस्रो चरणको परीक्षण सबैभन्दा महत्वपूर्ण हुन्छ । तेस्रो चरणमा भ्याक्सिनलाई हजारौँ व्यक्तिमा परीक्षण गर्नूपर्ने हुन्छ । लामो समयसम्म यसको प्रभाव हेर्नुपर्नेमा यो भ्याक्सिनले तेस्रो चरणको क्लिनिकल परीक्षण नै पार गरेको छैन ।
रुसी वैज्ञानिकले सुरुवातमा बाँदरमा र त्यसपछि मानिसमा परीक्षण गरेका थिए । त्यहीँ सफलतालाई नै आधार बनाएर भ्याक्सिन तयार गरिएको थियो । त्यसैले मानिसको स्वास्थ्य सुरक्षाका विषयमा प्रष्ट जानकारी दिन मिल्नेगरी कुनै पनि कुरा छैन । त्यसैले यसमा विश्वास गरिएको छैन ।
३.न्युयोर्क टाइम्सका अनुसार रुसले राजनीतिक र प्रोपोगण्डाको उद्देश्यले छिटोछिटो भ्याक्सिन सफल भएको दावी गरेको हो । डब्ल्युएचओले पनि रुसलाई भ्याक्सिन परीक्षणको निश्चित विधिभन्दा बाहिर गएर गरिने परीक्षणले मानवीय सुरक्षामा ठूलो नोक्सानी पुग्न सक्ने चेतावनी दिएको थियो । उसले परम्परागत तरिका छाडेर भ्याक्सिन तयार नगर्न सचेतसमेत गराएको थियो । तर, रुसी राष्ट्रपति पुटिनले भ्याक्सिनले परीक्षणका सबै प्रक्रिया पूरा गरेकाले सुरक्षित रहेको दावी गरेका छन् ।
४.विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले संसारभर ट्रायलमा रहेका भ्याक्सिनको लिष्ट सार्वजनिक गरेको छ । त्यसमा चीन, बेलायत र अमेरिकाका भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् । तर, रुसी भ्याक्सिनको नाम पहिलो चरणको परीक्षणको लिष्टमा पनि छैन ।
५.न्युयोर्क टाइम्सले एक हप्ताअघि रुसी स्वास्थ्य मन्त्रालयलाई भ्याक्सिनको मानव परीक्षणका विषयमा सम्भावित साइड इफेक्ट तथा अनुसन्धान नगरेरै भ्याक्सिन बनाएका विषयमा प्रश्न पठाएको थियो । तर, ती प्रश्नको रसियन स्वास्थ्य मन्त्रालयले उत्तर दिन सकेको छैन ।
६.अमेरिका, क्यानडा र बेलायतका सरकारले रुसमाथि भ्याक्सिनसँग जोडिएका विभिन्न डाटाहरु ह्याक गरेर चोर्ने प्रयास गरेको आरोप लगाएका थिए । त्यसै कारणले गर्दा रुसले भ्याक्सिनका विषयमा संसारलाई जानकारी दिन सकेको छैन । तर, रुसी अधिकारीले भने भ्याक्सिनका डाटाहरु ह्याक गरेको आरोप खारेज गरेका छन् ।