उत्तर प्रदेशमा कर्मचारीलाई उपहार लिन र पान-गुटखा खान प्रतिबन्ध - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

उत्तर प्रदेशमा कर्मचारीलाई उपहार लिन र पान-गुटखा खान प्रतिबन्ध



एजेन्सी : भारतको उत्तर प्रदेशमा कर्मचारीले अनुमतिविना उपहार लिन नपाउने भएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सोमवार यस्तो नियम जारी गरेका छन् ।

नयाँ नियमअनुसार कुनै पनि कर्मचारीले सचिवालय वा सरकारी कार्यालयमा कुनै पनि खालका उपहार लान पनि पाउनेछैनन् । यसैगरी सरकारी कर्मचारीले पनि उच्च अधिकारीको अनुमति नभई उपहार लिन नपाउने उल्लेख गरिएको छ । राज्य सरकारका सबै मन्त्रीलाई पनि यो अवगत गराइएको छ । उपहार दिएर सरकारी कर्मचारीलाई काम गराउने गरेको आधार देखाउँदै उत्तर प्रदेश सरकारले यस्तो निर्णय लिएको हो ।

मुख्यमन्त्री योगी आदित्यनाथ सरकारको आदेशप्रति केही कर्मचारीले भने गुनासो गरेका छन् । तृतीय श्रेणीका सरकारी कर्मचारीले भने यो आदेश अनुचित भएको बताएका छन् । उच्च पदस्थ अधिकारीको घरमै उपहार पुर्‍याइने गरेको दाबी गर्दै आफूहरूकहाँ सामान्य मिठाई मात्रै आउने गरेको उनीहरूको भनाइ छ । यसतर्फ विचार गर्न पनि उनीहरूले मुख्यमन्त्री योगीसँग आग्रह गरेका छन् ।

यसैगरी योगीले सरकारी भवनमा हतियार लिएर जान पनि नपाइने आदेश दिएका छन् । कैयौं विधायक र ठेकेदार सरकारी भवनमा जाँदा आफ्नो निजी सुरक्षाकर्मीका साथ राइफल र पिस्तोल लिएर जाने गरेकोमा त्यसमा पनि प्रतिबन्ध लगाइएको छ । सुरक्षाकर्मीले हतियार ढोकामै राख्नुपर्नेछ ।

मुख्यमन्त्रीले सरकारी कार्यालयमा पान, गुटखा खान पनि निषेध गरिएको छ । कुौ व्यक्तिले नियम उल्लंघन गरी पान, गुटखा खाएमा ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । यसअघि नै बैठक बसिरहेका बेला अधिकारीले मोबाइल फोन चलाउन रोक लगाइएको छ भने सरकारी कर्मचारी ९ बजे कार्यालय पुग्नैपर्ने नियम बनाइएको छ ।