विश्वकप: उरुग्वे घर फर्कियो, फ्रान्स सेमिफाइनलमा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

विश्वकप: उरुग्वे घर फर्कियो, फ्रान्स सेमिफाइनलमा



काठमाडौ‌ं- दुई पटकको विश्वविजेता उरुग्वेलाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेमाथि २-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।

अब फ्रान्सले फाइनल प्रवेशका लागि ब्राजिल र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्सले खेलको ४० मिनेटमा अग्रता लियो। डिबक्स बाहिरबाट एन्टोनी ग्रिजम्यानले हानेको फ्रिकिकमा डिफेन्डर राफायल भारानले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए।

लगत्तै उरुग्वेले बराबरी गोल फर्काउन गरेको प्रयासमा फ्रान्सका गोलकिपर तथा कप्तान हुगो लोरिस बाधक बने। फ्रिकिक बलमा काकेरेसले सिक्स यार्डबाट हानेको उत्कृष्ट हेडरलाई लोरिसले उतिकै उत्कृष्ट बचाउ गरेका थिए।

फ्रान्सले ६१ मिनेटमा अग्रता दोब्बर पार्‍यो। एन्टोनी ग्रिजम्यानले डिबक्सबाट हानेको सशक्त फ्रिकिक प्रहार उरुग्वेका गोलकिपर मुस्लेरको हातबाट फुस्किएर जाली चुमेको थियो।

खेलमा उरुग्वेका अनुभवी फरवार्ड इडिन्सन काभानी घाइते भएका कारण मैदान उत्रिएका थिएनन्। जसले उरुग्वे सुरुवातदेखि नै दबाबमा परेको थियो।