थाइल्याण्डबाट ऊर्जामन्त्रीको आग्रह नेपालमा लगानी गर्नुस
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग शुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत् विकासमा उल्लेख्य सुधार भएको उल्लेख गरेको ऊर्जा मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत् व्यापार सम्झौता (पिटिए) को प्रक्रिया शुरु भएको जानकारी गराएका थिए ।
उनले भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिँदै अब बंगलादेश र चीनसँग पनि छिट्टै उक्त सम्झौता हुने विश्वास व्यक्त गरे । मन्त्री पुनले ऊर्जा तथा विद्युत्को क्षेत्रमा चीनसहित सार्क र बिम्स्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । ।
कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्न आवश्यक रहेको बताए । उनले दिगो र गुणस्तरीय विद्युत् विकास गर्न क्षेत्रीयस्तरमा पनि सम्बन्ध बलियो हुनुपर्ने उल्लेख गरे । रासस