बिजुलीका ठूला चोरहरु समात्ने क्रम शुरु:उर्जामन्त्री - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

बिजुलीका ठूला चोरहरु समात्ने क्रम शुरु:उर्जामन्त्री



काठमाडौं, १० माघ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताउनुभएको छ ।
अष्टज अभियानले राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको भन्दै मन्त्री शर्माले त्यस्ता चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । “हाल बिद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एक एक गरी समातिनेछन्, तिनलाई कुनैपनि हालतमा छाडिदैन ” उहाँले भन्नुभयो “प्राधिकरणभित्रका चोरहरुको साईनो अन्तै जोडिएको छ, त्यो क्रमश पत्ता लाग्दै गएको छ ।”

मन्त्री शर्माले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरण भित्रका भ्रष्टहरुलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने ठोकुवा गर्नुभयो । “लोडसेडिङ हटाएपछि जनताले मलाई अब के गर्छस भनेर ठाँउ ठाँउमा सोध्ने गरेका छन, मैले भनेको छु अब बिद्युत चोरहरुलाई कार्वाहीको दायरामा ल्याउछु ।”
आइतवार मात्र नेपाल प्रहरीले बिद्युत चोरी गरेको अभियोगमा विद्युत प्राधिकरणका बहालवाल र पूर्व कर्मचारी १६ जनालाई सार्वजनिक गरेको थियो ।

आयोजना अध्ययन समय घटाइने
मन्त्री शर्माले जलविद्युत आयोजनाहरुको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको जानकारी दिनुभयो । “संभाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना ?” उहाँले भन्नुभयो “यस्ता खालका विज्ञ र इन्जीनियरहरुबाट देशको विकास संभव छैन, यसलाई सच्याउनै पर्छ ।”

नेपालीसँग प्रशस्त पैंसा छ
उहाँले नेपाल र नेपाली जनतासँग पैंसा छैन भन्ने भ्रम हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताउनुभयो । अनलाईन आवदेनबाट मात्रै दश दिनभित्र साढे २ अर्बको लगानी प्रतिवद्धता आइसकेको जानकारी दिँदै मन्त्री शर्माले ३० अर्बको प्रतिवद्धता आउनासाथ कुनै नाफामुलक आयोजना शुरु गर्ने सोचाई रहेको बताउनुभयो ।

बिजुली खपतको चिन्ता नगरौं
नेपालमा उत्पादित विजुली कहाँ बेच्ने भनेर कतिपय विज्ञले आफुलाई हैरान पारिसकेको भन्दै उहाँले यस्तो खाले केटौले चिन्तनले देशको उन्नती नहुने ठोकुवा गर्नुभयो । १० हजार मेगावाट विजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको अवस्थामा बिजुली खपतको चिन्ता दयालाग्दो भएको उहाँले बताउनुभयो । मन्त्री शर्माले बिद्युत खपतको नभई उत्पादनको चिन्ता गर्न बिज्ञहरुलाई आग्रह गर्नुभयो ।

पन्ध्र वर्षमा नेपाल समृद्ध बन्छ
मन्त्री शर्माले तीब्र गतिमा काम गर्ने हो भने नेपाल १५वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने धारणा राख्नुभयो । समृद्ध नेपाल निर्माणको आधार जलविद्युत नै भएको भन्दै उहाँले राजनीतिक नेतृत्वले दृढ संकल्प गरेर योजना बनाउने हो भने डेढ दशकमै नेपाल विकसित मुलुकमा रुपान्तरण हुने ठोकुवा गर्नुभयो । नेपालको पानी जनताको लगानी नामक कार्यक्रम फाष्ट ट्रयाकबाट मुलुकको विकास गर्ने कार्यक्रम भएको उल्लेख गर्नुभयो ।

एवारेस्ट दैनिक