उपेन्द्रले भने: पंचायतीले भन्दा कम्युनिस्टले बढी भ्रष्टाचार गरे
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै बढी भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले यो सरकारले देशलाई धरासायी बनाउँदै लगेको समेत बताएका छन् ।
शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताएका हुन् । पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’
अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट देशको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।
उनले जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको समेत बताए ।
लोक समाजवाद, संघीयता र लोकतन्त्रको बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै देशको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
एक प्रसङ्गमा यादवले पंचायती व्यवस्थामा पनि अहिलेको सरकारले गरेको जति भ्रष्टाचार नभएको दाबी गरेका थिए।

