उपेन्द्र निवास पुगेर प्रचण्ड-माधव गोप्य भेट्नुको रहस्य
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाख २७ गते संसदको विशेष अधिवेशन डाकेर विश्वासको मत लिने निर्णय गरेसँगै नेपालको राजनीतिक माहोल तातेको छ भने विपक्षी दलहरू ओलीविरुद्धको गठबन्धन बनाउन लागिपरेका छन् ।
कांग्रेस र माओवादी केन्द्रले मंगलवारमात्रै ओली नेतृत्वको सरकारले लिन खोजेको विश्वासको मतलाई असफल पार्ने निर्णय लिएपछि विपक्षी गठवन्धनहरु सोही अनुसारको रणनीति बनाउन आन्तरिक छलफलमा जुटन थालेका हुन् ।
काग्रेस र माओवादीसँगै एमालेकै पार्टीको अर्को समूह पनि यो अभियानमा लागेको पाइएको छ । ओलीको रणनीति असफल पार्ने मोर्चावन्दीमा एमालेकै माधव नेपाल पक्ष पनि जुटेको छ । बुधबार विहान ८ वजेदेखि साढे १० वजेसम्म ढेड घण्टा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हात्तिवनस्थित निवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्रका वीचमा भेटवार्ता भएको खुलेको छ ।
अत्यन्त गोप्य राखिएको यो भेटबारे बाहिर हल्ला भएपछि नेपाल समूह समस्यामा परेको छ । यो भेटवार्ताका लागि प्रचण्ड आफुले चढदै आईरहेको गाढी छोडेर अर्काे नयाँ गाढीमा पुगेका थिए भने माधव नेपाल आफन्तको गाढीमा ।
कुनैपनि अवस्थामा केपी ओलीले आफुहरुलाई कारवाही गर्ने देखेपछि माधव नेपाल पक्षका प्रत्यक्ष तर्फ जितेका २२ सांसदहरु सामुहिक राजीनामा दिएर अगाडी बढ्ने की भन्ने आन्तरिक छलफलमा जुटिरहेकै बेला नेपालले प्रचण्ड र उपेन्द्रसँग एउटै मोर्चामा रहने गरी भेटवार्ता गरेका हुन् ।
सोमबार साँझ मात्रै देउवाका आफन्त प्रमोद राणाको निवासमा देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्रका वीचमा छुट्टै भेटवार्ता भएको थियो । ओलीले जसपालाई समेत विभाजनमा लैजाने गरी महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफुतिर तान्ने प्रयास गरेपछि यादव पक्ष ओलीको रणनीति विफल वनाउन जुटिरहेको छ ।
त्यसक्रममा जसपाका कति सांसद विपक्षमा रहन सक्छन् र माधव नेपाल पक्षका कति सांसदले ओलीको विपक्षमा उभिन सक्छन् भन्ने अंकगणितमा केन्द्रीत रहेर छलफल भएको स्रोतको भनाई छ ।
यो भेटघाट सकिएपछि प्रचण्ड सिंहदरवार पुगेका थिए । त्यहा ओलीलाई दिएको समर्थन फिर्ताको पत्रमा हस्ताक्षर गरेर निवास फर्केका थिए । निवासमा उनले काग्रेसका अमरेसिंह लगायतसँग भेटघाट गरेको स्रोतको भनाई छ ।
उता नेपालले पनि उपेन्द्र निवासमा प्रचण्ड सहितको गोप्य वार्तापछि आफ्नै निवास कोटेश्वरमा भीम रावल लगायतका नेतासँग आन्तरिक छलफल गरेका छन् ।