सीके राउत भन्छन: उपेन्द्र यादव भ्रष्टाचारी र बलात्कारीको नाइके हुन्
वीरगन्ज- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गम्भीर आरोप लगाएका छन्।
राउतले उपेन्द्र यादव भ्रष्टाचारी र बलात्कारी नेताको नाइके भएको र उनीहरूको संरक्षण गरेको आरोप लगाएका हुन् । उनले प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज रहेको आरोप समेत लगाएका छन् ।
मंगलबार वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै राउतले प्रदेश २मा भ्रष्टाचार र गुण्डको जंगलराज रहेको आरोप लगाएका छन् ।
‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’
समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनको छ।
मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको भन्दै राउतले भने,‘उपेन्द्र र उनको पार्टीले भ्रष्टचारी, तस्कर बलात्कारी नेताको संरक्षण गर्दै आइरहेको छ ।’