जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको सांसद् मोहम्मद इस्तियाक राईले जानकारी दिए।

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन । जसपामा विवाद बढेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

तर‚ गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो । केही दिनअघि जसपाले संसदीय दलको विधान पनि पारित गरेको थियो ।