महन्थ ठाकुर रित्तै: उपेन्द्र समुहमा २३ सांसद पुग्ने दाबी, बैठकमा बहुमत
काठमाडौं- जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूह सरकारमा सहभागी हुने भएको छ । आइतबार बसेको यादव पक्षीय संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र उनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय उक्त पक्षले गरेको हो । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ ।
पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । ति नेताका अनुसार आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय गरेको छ ।
उपेन्द्रको पक्ष २३ सांसद दाबी, बैठकमा १९ सांसद उपस्थित
बैठकमा सहभागी एक नेताका अनुसार यादव समूहको आजको १९ जना सांसद उपस्थित थिए । जसमा १९ जना सङ्घीय सांसद र २ जना राष्ट्रियसभामा सांसद रहेको बताइएको छ । महन्थ ठाकुरको पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाललगायतका सांसदहरु उपेन्द्र यादवको पक्षमा आएका छन् ।
ठाकुर समुहका सांसदहरू उपेन्द्र समुहमा आएको प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पुष्टि गरेका छन् । उनले अझै केही सांसदहरु उपत्यका बाहिर रहेको कारण बैठकमा आउन नसकेको र चारजना सांसद अझै थपिने बताए । यसअघि उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरको पक्षमा लागेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे पनि यादव समुहमा आउन लागेको बताइएको छ ।
यदि यी चार सांसद पनि उपेन्द्रको पक्षमा आएको खण्डमा उपेन्द्र समुहमा २३ सांसद पुग्नेछन् । यी सांसद पनि ठाकुरको साथ् छाडेर आउन लागेको बैठकमा सहभागी एक नेताले बताए।