काठमाडौंमा बिरामीलाई उपचार गर्न कठिन हुनसक्छ: स्वास्थ्य मन्त्रालय
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको संक्रमणले चिन्ता थपेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा सयौं संख्यामा स्वास्थ्यकर्मीहरू नै संक्रमित भएको भन्दै थप स्वास्थ्यकर्मी संक्रमित हुनथाले बिरामीलाई नै सेवा पुर्याउन कठिन हुने बताएका हुन्।
उनले अहिले सयौं स्वास्थ्यकर्मीहरू संक्रमित भए पनि सेवालाई व्यवस्थापन गर्न सकिए पनि यहीँ अवस्था भए समस्या आइपर्ने जनाए।
‘अहिले स्वास्थ्यकर्मीहरूले दिने सेवा पनि घटेको छ। अहिले व्यवस्थापन भइरहेको छ तर यसरी नै संक्रमण भयो भने बिरामीहरूलाई स्वास्थ्य सेवा पुर्याउन कठिन हुनसक्छ,’ उनले भने।
यस्तै, मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको भन्दै ६० वर्ष पुगेका वृद्धवृद्धालाई घर बाहिर ननिस्कन अपील गरेको छ।
साथै, अन्य स्वास्थ्य समस्या भएका, क्यान्सर, छाती, मुटु रोगी, किड्नीका बिरामी र गर्भवती महिलाहरूलाई समेत घर बाहिर ननिस्कन भनिएको छ।
यदि निस्किहाल्न परे दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्न र बेलाबेला साबुन पानीले हात धुन भनिएको छ।
पछिल्लो केही दिनयता देशभर थपिएका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन्। मंगलबारमात्र देशभर एक हजार ३५६ जना संक्रमित थपिँदा ६ सय ४७ जना काठमाडौं उपत्यकाका छन्।