उपत्यकामा उद्योग तथा कार्यालयहरू खोल्न पाइने: यस्तो छ अबको तयारी
काठमाडौं- काठमाडौं उपत्यकामा आर्थिक क्षेत्र खोल्ने तयारी भएको छ । अघिल्लो साताभन्दा यो साता संक्रमण घटेपछि थप आर्थिक गतिबिधि संचालन गर्ने तयारी थालिएको हो ।
अहिले जारी लकडाउन ८ असारसम्म भएकाले त्यसपछि निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको बताइएको छ । खाद्यान्न तथा निर्माण सामग्रीको पसल थप धेरै समय खोल्न दिने तयारी गरिएको बताइएको छ ।
कपडा तथा भाँडा पसलसमेत सञ्चालन गर्न दिन लागिएको छ । सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान भने तत्काल नखुल्ने भएको छ । आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बैठक बसेर यसको औपचारिक निर्णय गर्ने बताइएको छ ।
त्यसका अलावा उद्योग तथा कार्यालयहरू भने स्वास्थ्य मापदण्ड पालना गराएर खोल्न दिने तयारी समेत भएको छ ।
पछिल्लो एक सातामा उपत्यकाका नयाँ संक्रमितको संख्या निरन्तर घट्दो क्रममा छ । अघिल्लो साता निषेधाज्ञा खुकुलो बनाएर एक साताका लागि थपिएको थियो । निर्माण सामग्री तथा पुस्तक पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो ।
होटेल तथा रेस्टुरेन्टले टेकअवे सुविधा दिन पाउने निर्णय भएकोमा त्यसलाई यथावत राख्न लागिएको छ ।