उपमेयरले नै कार्यालयको ल्यापटप फुटाएपछी... - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

उपमेयरले नै कार्यालयको ल्यापटप फुटाएपछी…



रौतहट — विकासको योजना बनाउँदा मनोपली ढंगले गरेको भन्दै गुजरा नगरपालिकाकी उपमेयर रौशाना खातुनले कार्यालयको ल्यापटप फुटाएकी छन् ।

प्राविधिक फाँटको ल्यापटप फुटाएपछि सोमबार कार्यपालिकाको आकस्मिक बैठकमा माफी माग्दै खातुनले आइन्दा यस्तो हरकत नगर्ने लिखित प्रतिबद्धता जनाइन् ।

उनले ल्यापटपको क्षतिपूर्ति तिर्ने बैठकलाई जानकारी गराइन्।

कार्यपालिकाको बैठकबाट योजना छनोट भई उपभोक्ता समिति गठनको प्रक्रियामा रहेका बेला मनोपली ढंगले योजनाको इष्टमेट गर्न लागिएको भन्दै खातुन तोडफोडमा उत्रेकी हुन्। उनले आइतबार दिउँसो प्राविधिक शाखाको ल्यापटप तोडफोड र उपभोक्ता समिति गठन सम्बन्धी कागजात च्यातेकी थिइन्।

उपमेयर खातुनले आवेगमा आई गलत काम गरेको र अब उप्रान्त यस्तो गल्ती नदोहोरिने लिखित प्रतिबद्धता जनाएको नगरपालिकाका मेयर शन्तलाल चौधरीले बताए। ‘आफ्नै अध्यक्षतामा बैठक बसेर हरेक योजनामा सहमति जनाउँदै हस्ताक्षर गर्ने अनि अन्तिम समयमा आएर बिरोध गर्ने र तोडफोडमा उत्रने,’ उनले भने, ‘यो सिंगो नगरपालिकालाई असफल बनाउने चाल हो। यसरी अनिर्णयको बन्दी बनाउन पाइँदैन। सहमति र सहकार्यबाट नगरको विकास गर्नुपर्छ।’