उपसभापति अपडेट: करिब १२ सय मत गन्न बाँकी, शेखर प्यानल अगाडी
काठमाडौँ – नेपाली कांग्रेसको उपसभापतिमा ३४०० मत गणना भएको छ। अब करिब १२ सय मत गन्न बाँकी छ ।
कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिका लागि भएको चुनावको मतगणना चलिरहदा संस्थापन इतर पक्षका दुई उम्मेद्वारले निरन्तर अग्रता लिइरहेका छन् । प्रारम्भिक मतगणनादेखि नै अग्रता लिइरहेका संस्थापन इतर पक्षका धनराज गुरुङ र चन्द्र भण्डारीले ठुलो अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मतपरिणामअनुसार ३००० मतगणना हुँदा धनराज गुरूङले १५६५ मत ल्याएका छन् । यस्तै चन्द्र भण्डारीले १२९८ मत ल्याएका छन् । धनराज र चन्द्र भण्डारी संस्थापन इतर पक्ष शेखर कोइराला प्यानलबाट उपसभापतिको उम्मेद्वार हुन् ।
संस्थापन शेरबहादुर देउवा प्यानलका उपसभापतिका उम्मेद्वार पूर्णबहादुर खड्काले १०९२ र विजय गच्छदारले ८७६ मत पाएका छन्। कुनै गुटमा नलागेर उम्मेदवारी दिएका महेश आचार्य पाँचौ नम्बरमा छन्। उनले ३६३ मत पाएका छन्।
सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएपनि उपसभापतिमा संस्थापन इतर पक्षले निरन्तर अग्रता लिइरहेका छ्न । जसले संस्थापन पक्षका अरु उम्मेद्वारलाई पनि सशंकित पारेको छ ।
सभापतिको मत गणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मत गणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
कांग्रेस उपभासपतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उपसभापतिमा निर्वाचित हुनेछ।