नेपालले भारतलाई हरायो - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

नेपालले भारतलाई हरायो



काठमाडौं। एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोटमा शुक्रबार नेपालले भारतलाई हराएको छ । थाइल्यान्डमा भएको खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको थियो । नेपालका लागि रेखा पौडेलले नै २ गोल गरेकी थिइन् ।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि नेपाललाई आयोजक थाइल्यान्डको टिमले ३–० ले पराजित गरेको थियो । नेपालले आइतबार पाकिस्तानको सामना गर्दै छ । समूह ‘बी’मा नेपाल, थाइल्यान्ड, भारत , सिंगापुर र पाकिस्तान रहेका छन् ।

नेपालका लागि पहिलो गोल रेखा पौडेलले खेलको ५९औं मिनेटमा गरेकी थिइन् । अन्तिम दुई मिनेट बाँकी छँदा रेखाले नै दोस्रो गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । पहिलो हाफमा केही अवसरलाई स्कोरमा परिणत गर्न नसकेको नेपाली टिमले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

भारतले यसअघि पाकिस्तानलाई १८–० ले हराएको थियो । यो समूहको शीर्ष दुई टिम थाइल्यान्डमा नै हुने यू–१९ च्याम्पिनयसिपका लागि छनोट हुनेछन् । सो समूहमा थाइल्यान्ड शीर्ष स्थानमा रहेको खण्डमा भने दोस्रो हुने टिमले पनि अन्तिम चरणमा छनोट हुने अवसर पाउनेछ । नेपालको जितसँगै छनोट हुने सम्भावना बढेको छ ।