एमालेका सांसदले भने: ईश्वर पोखरेल र सीसीएमसीकै कारण अक्सिजनको हाहाकार भयो
काठमाडौँ- नेकपा (एमाले)कै सांसद जीवनराम श्रेष्ठले उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनको नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै कारण अस्पतालहरूमा अक्सिजनको हाहाकार भएको बताएका छन् ।
उनले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको सीसीएमसीले गरेको एक निर्णयले गर्दा अक्सिजनको हाहाकार मच्चिएको आरोप लगाएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
सांसद श्रेष्ठले सीसीएमसीले अस्पतालहरूलाई कोटा तोक्ने निर्णय गरेर अस्पतालहरूमा अक्सिजनको हाहाकार अवस्था ल्याएको बताएका हुन् ।
‘अहिले अस्पतालमा अक्सिनजको हाहाकार हुनुको दोषी सीसीएमसीको निर्णय छ,’ समितिले कोरोनासम्बन्धमा अध्ययन र अनुगमन गर्न गठित उपसमितिका संयोजकसमेत रहेका सांसद श्रेष्ठले भने, ‘सीसीएमसीले फलानो अस्पतालाई यति र अर्कोलाई यति भनेर जुन कोटा तोक्ने काम गर्यो त्यसपछि यो हाहाकार सुरु भएको हो । सीसीएमसीले कुन अक्सिजन प्लान्टमा कति उत्पादन हुन्छ भन्ने पनि नहेरी त्यस्तो निर्णय गरियो । कति ठाउँमा अक्सिजन प्लान्टको क्षमताभन्दा बढी कोटा तोकिदियो ।’
यसअघि नियमित रूपमा अक्सिजन लिइरहेका अस्पताललाई अर्कै अक्सिजन प्लान्ट तोकिदिनाले पनि समस्या आएको सांसद श्रेष्ठको भनाइ थियो । त्यस कारणले अस्पतालले अक्सिजन प्राप्त गर्न नसकेको र अक्सिजन आपूर्ति प्रणाली भत्किँदा पनि हाहाकारको अवस्था आई बिरामीको मृत्यु भएको उनले बताए ।
उपप्रधानमन्त्री पोखरेल नेतृत्वको सीसीएमसी भीरमा फलेको फर्सीजस्तो भएको भन्दै सांसद श्रेष्ठले कोरोना नियन्त्रणको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने पनि माग गरेका छन् ।