फेरि सर्नेभयो एमालेको मुख्यालय, थापाथली पनि छोड्ने - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

फेरि सर्नेभयो एमालेको मुख्यालय, थापाथली पनि छोड्ने



काठमाडौँ। नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ। कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते मुख्यालय सर्ने जानकारी दिए।

ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने जनाइएको छ।

कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनः निर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ।

अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङ रोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए। भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनको घर भाडामा लिई सञ्चालन गरिएको थियो।