एमालेलाई नयाँ पार्टी कार्यालयको चटारो - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

एमालेलाई नयाँ पार्टी कार्यालयको चटारो



काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गरेका छन् । उनले थापाथली हाइट पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सबै कोठाको निरीक्षण गरेका थिए । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए ।

‘चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ’, उनले भने, ‘त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सर्छौँ ।’

अग्रवालको घर पाँच वर्षका लागि भाडामा लिने सम्झौता भएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्या अर्यालले जानकारी दिइन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले घरकोे भाडाका विषयमा सहमति नभएको बताए ।

‘भाडाको विषयमा सहमति भएको छैन् । उहाँ मेरो चिनजानको घरबेटी भएकाले जति दिए पनि हुन्छ भन्नुभएको छ’, उनले भने ।

साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । घरधनी सञ्जय अग्रवालको परिवार अहिले कालीमाटीमा रहेको घरमा बसिरहेको छ । नयाँ पार्टी कार्यालयमा थापाथलीस्थित कार्यालयमा रोबोट राखिएको छ । जसले आगन्तुकको स्वागत गर्ने बताइएको छ । रोबोटले विभिन्न प्रश्नको उत्तर समेत दिने बताइएको छ ।

विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो ।

प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो । एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।