सात वटा पालिका र ५२ वटा वडा सजिलै जित्ने एमालेको निष्कर्ष
बिराटनगर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा धनकुटाका सात वटै पालिका र ५२ वटा वडा सजिलै जित्ने दावी गरेको छ । एमाले धनकुटाले शनिवार पत्रकार सम्मेलन गरेर जिल्लामा चार दलको गठबन्धन बनेपनि त्यसले एमालेलाई केही फरक पार्न नसक्ने दावी गरेको हो । एमाले नेताहरुले चार दलीय गठबन्धनलाई देखावटी र ‘भुसुनाको झुण्ड’ को संज्ञा पनि दिएका छन् ।
धनकुटामा सात पालिका र ६० वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले सात वटै पालिका र ४३ वडा जितेको थियो । माओवादीबाट बिजयी भएका दुई वडाध्यक्ष पनि एमालेमै आएका छन् । अहिले सात वटै पालिकाका प्रमुख र उपप्रमुखसहित ४५ वडाका वडाध्यक्ष एमालेकै छन् । गत निर्वाचनमा जिल्लाभर निर्वाचित कुल जनप्रतिनिधि मध्ये ८५.५३ प्रतिशत पदमा आफ्ना उम्मेद्वार बिजयी गराई वाँकी सबै दललाई १४.४७ प्रतिशतमा सिमित गराएको एमालेले आगामी निर्वाचनमा अझ बढी जित निकाल्ने दावी गरेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेर धनकुटाका सवै पालिका र वडाहरुमा साझा उम्मेद्वार उठाउँने घोषणा गरिसकेका छन् । तर, त्यो गठबन्धनको कुनै अर्थ नरहेको एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र राईले बताए । ‘चार दल एक भएर चुनावी तालमेल गर्ने भनेको सुन्यौं, भुसुनाहरुको झुण्डले एमालेलाई केही फरक पार्दैन,’ नेता राईले भने, ‘हामीले जनताको पक्षमा काम गरिरहेका छौं, पदका लागि भुसुनाहरु एक भएर केही हुनेवाला छैन, उनीहरुले जनताको भोट पाउँदैनन, धनकुटेली जनता एमालेको पक्षमा छन्, एमालेलाई जिताउँछन् ।’
चार दलले घोषणा गरेको गठबन्धन देखावटी मात्र रहेको नेता राईको तर्क छ । गठबन्धन भत्किसकेको उनी बताउँछन् । भन्छन्, ‘गठबन्धनमै भएको दल माओवादीका नेताहरुले चौविसे, छथर र सहिदभूमिमा तीन वटा उपाध्यक्ष दिनुहोस् भनेर हामीलाई भनिरहनुभएको छ, हामी यो बिषयमा छलफल गरिरहेका छौं, अनि कसरी गठबन्धन भन्न मिल्छ, यो देखावटी मात्र हो ।’
एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले अहिलेको प्रारम्भिक सर्वेक्षण अनुसार धनकुटामा अरु सबै दलले गठबन्धन गरेपनि एमाले एक्लै भिडेर सातै पालिका र ६० वटै वडा जित्न सक्ने अवस्था रहेको बताए । सातै पालिका र ६० मध्ये ५२ वडा सजिलै जित्ने उनको दावी छ । ८ वटा वडामा प्रतिष्प्रधा हुनसक्ने उनको अनुमान छ । ‘अरुको गठबन्धन भएपनि सातै पालिका एमालेले जित्छ, केही पालिकामा निकै फराकिलो मतान्तरले जित्छौं । ५२ वडा सजिलै जित्ने आधारसीला छ,’ अध्यक्ष पराजुलीले भने, ‘आठ वडामा प्रतिष्प्रधा छ, प्राविधिक कारणले केही वडा तलमाथि भयो भने वेग्लै कुरा नभए ६० वटै वडा एमालेले जित्ने आधार छ ।’