‘देशभित्र र बाहिरका शक्तिले षड्यन्त्र गरेका छन्, एमालेले त्यसको प्रतिवाद गर्छ’ - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

‘देशभित्र र बाहिरका शक्तिले षड्यन्त्र गरेका छन्, एमालेले त्यसको प्रतिवाद गर्छ’



काठमाडौं- एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले देशभित्र र बाहिरका शक्तिको षड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन्। सोमबार हमेशा नियन्त्रित अस्थिरताको माध्यमबाट मुलुकलाई अघि बढ्न नदिने देशभित्र र बाहिरका केहि शक्तिहरुको षड्यन्त्रपूर्ण क्रियाकलापको सशक्त प्रतिवाद एमालेले गर्ने उनले बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सत्ता गठबन्धनले महाभियोग लगाएपछि त्यसबारे आधिकारिक धारणा बनाउन एमालेले संसदीय दलको बैठक बसेको हो। भट्टराईले बिषम राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्न र आवश्यक निर्णय लिन मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा ( एमाले ) संघीय संसदीय दलको बैठक बसेको बताए।

एमालेले प्रधानन्यायाधीश राणासहित परमादेश दिने पाँचै जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने बताउँदै आएको छ। यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानन्यायाधीशलाई मात्रै नभई पाँचै जना न्यायाधीश हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए। एमाले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलामा संलग्न अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउन छलफल गरेपनि त्यसबाट ब्याक भएको छ। जसमा न्यायाधीशहरू दीपककुमार कार्की (कायममुकायम प्रधानन्यायाधीश), मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा छन्। यसबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।

तर छलफलमा अधिकांश नेताहरूले यो प्रस्तावको विरोध गरेपछि तत्काल यो कदम नचाल्ने बताइएको छ । एमालेको संसदीय दलको बैठकमा सांसदहरूको हस्ताक्षर भने संकलन गरिएको छ ।

संकलन गरिएका हस्ताक्षर सभामुख अग्नि सापकोटालाई हटाउन प्रयोग गरिने आंकलन गरिएको छ । बैठकले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याएर सभामुख हटाउन कदम चाल्न सक्ने पनि बताइएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई नहटाएको भन्दै एमालेले सभामुखप्रति असन्तुष्टि जनाउँदै आएको छ।