बैठकमा एमाले नेताहरूको प्रस्ताव: आत्मघाती गोल नगरौँ, चोलेन्द्र र एमसीसीको पक्षमा नलागौँ - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

बैठकमा एमाले नेताहरूको प्रस्ताव: आत्मघाती गोल नगरौँ, चोलेन्द्र र एमसीसीको पक्षमा नलागौँ



काठमाडौं । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेताहरूले विरोध गरेपछि थप चार जना न्यायाधिशविरुद्ध महाभियोगको निर्णय नहुने भएको छ । बैठकमा नेताहरूले चोलेन्द्रलाई फाल्नुपर्ने मत राखेको बताइएको छ ।

केहि नेताहरूले थप चार जनाविरुद्ध महाभियोग लगाउनु भनेको आत्मघाती गोल गर्नुजस्तै भएको बताएका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले एमालेले आवेगमा निर्णय नहुने बताएका थिए । महाभियोग नलगाए पनि हस्ताक्षर भने संकलन गरिएको एक नेताले बताए ।

बैठकमा नेताहरू भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका थिए । उनीहरूले एमसीसी र चोलेन्द्रको पक्षमा पार्टी उभिँदा ठुलो क्षति हुने बताएका थिए ।

बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने- यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन ।

बैठकमा रावलले एमसीसीको विरोधमा एमाले सशक्त रुपमा उभिनुपर्ने धारणा राखेका थिए । एमसीसीलाई पास हुन नदिने गरि एमाले अघि बढ्नुपर्ने धारणा आएको भुसालले बताए ।

बैठकमा रावलले एमसीसीका सन्दर्भमा पार्टी नेतृत्वले लिएको नीतिको समेत आलोचना गरेका थिए ।