एमालेले भन्यो: अमेरिकी सहायकमन्त्रीले दिएको धम्की आपत्तिजनक - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

एमालेले भन्यो: अमेरिकी सहायकमन्त्रीले दिएको धम्की आपत्तिजनक



काठमाडौं- नेकपा (एमाले)ले एमसीसी पास पर्न अमेरिकी विदेश सहायकमन्त्रीले दिएको धम्की आपत्तिजनक रहेको बताएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

शनिबार गुल्मी-काठमाडौं पालिकास्तरीय सम्पर्क मञ्चको संयुक्त विस्तारित बैठकमा बोल्दै उनले यो अवस्था आउनुमा सत्तारुढ दलका नेताहरु नै जिम्मेवार रहेको बताए।

‘हिजो केपी ओलीले संसद्‍मा अगाडि बढाउँदा रोक्ने उनीहरु नै हो, फेरि संसद्‍बाट पारित गर्छौं भनेर पत्र पठाउने पनि उनीहरु नै,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘विदेश सहायकमन्त्रीले हाम्रो राजनीतिक नेतृत्वलाई धम्की दिने अवस्था आउनु उहाँहरुकै कारण हो।’

आफू परराष्ट्रमन्त्री हुँदा रहेको सम्मानजनक अवस्था अहिले बिग्रिएको भन्दै उनले गुनासो गरे। ‘हिजो उनीहरुले नै रेड कार्पेट ओछ्याएर भ्रमणमा बोलाउँथ्यो। म परराष्ट्रमन्त्री हुँदा प्रधानमन्त्रीको भ्रमणको तयारी भएको थियो,’ ज्ञवालीले भने, ‘सहायकमन्त्रीले साँच्चै मिडियामा आएको जस्तो भाषा प्रयोग गरेर हाम्रा नेतृत्वलाई धम्की दिएको हो भने त्यो आपत्तिजनक छ, अस्वीकार्य छ।’