राज्यमन्त्री बनेको ७५ दिनमा उमेश श्रेष्ठ मन्त्रिमण्डलबाट बाहिरिने - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

राज्यमन्त्री बनेको ७५ दिनमा उमेश श्रेष्ठ मन्त्रिमण्डलबाट बाहिरिने



काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेका छन् ।

तर गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा सम्बन्धी विवाद समाधान भएपछि उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् ।देउवाले महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठ ७५ दिनमै हट्ने लगभग निश्चित भएका हुन् ।

उनलाई मन्त्री बनाएको भन्दै कांग्रेसभित्र र गठबन्धनमै विरोध भएको थियो । राज्यमन्त्रीको रूपमा ७५ दिनको अनुभव लिएर श्रेष्ठ बिदा हुने भएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएर शुक्रबार ८९ औं दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेको हो ।

त्यस्तै देउवाले कांग्रेसले लिएकामध्ये रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन् । त्यस्तै समाजवादीले २ मुख्यमन्त्री पनि पाएको छ ।