नेविसंघमा ३२ को उमेरहद लगाउनै पर्ने ७ कारण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेविसंघमा ३२ को उमेरहद लगाउनै पर्ने ७ कारण



शिव पाण्डे

परिवर्तनसँग सम्बन्धित अत्यन्तै चर्चित प्रसङ्ग भनेको डाइनोसर र मान्छेको पुच्छर हुन, यी कहानीलाई हामीले धेरै कुरामा जोडिरहेका हुन्छौँ ।

जब मान्छेमा पुच्छरको कुनै काम भएन तब पुच्छर आफै लोप भयो त्यस्तै संसारका सबै चिजहरूमा यो किस्सा लागु हुन्छ । जे चिजको दुनियाँलाई आवश्यकता हुँदैन सबै हराउँदै जान्छन् वा फालिन्छन् । १०४ वर्षको इतिहास बोकेको राजसंस्था पनि यसको गतिलो उदाहरण बन्न सक्छ । उ समय अनुसार परिवर्तन हुन सकेन त्यसैले परिवर्तन भैसकेको वातावरणमा उसको औचित्य सकियो त्यसैले परिवर्तनकारी जनताले उसलाई इतिहास बनाइदिए ।

त्यस्तै लामो इतिहास बोकेको, जनताका सबैजसो आन्दोलनको नेतृत्व गरेको, सबै युद्धहरूलाई शान्तिमा बदलेको नेपाली काँग्रेस आज प्रमुख प्रतिपक्षमा छ त्यो पनि निकै सानो सङ्ख्यामा । यति सानो आकारमा काँग्रेसले कहिले खुम्चिएको अनुभव गर्न पाएको थिएन सायद यो पनि एउटा परीक्षा हुन सक्छ काँग्रेसको लागी कि अव पार्टीको फर्म्याट बदल्नुपर्छ, मुद्दाहरूमा परिवर्तन ल्याउनुपर्छ र अब २१औं शताब्दीको काँग्रेस बन्न सक्नुपर्छ भन्ने ।

हुन त पार्टी आफै कहिले पनि बिग्रँदैन र सकिँदैन, यसलाई बिगार्ने र सिध्याउने भनेकै व्यक्तिले हो र त्यो व्यक्तिले गरेका हरकत संस्कारमा बदलियो भने सायद संसारको कुनै शक्तिले पनि पार्टीलाई बँचाउन सक्दैन । र यो विषयमा गम्भीर भएर सोच्ने बेला भनेको काँग्रेसको लागि अहिले भन्दा उत्तम कहिले हुनसक्ने छैन ।

पछिल्लो समय नेपाली काँग्रेसमा केही सुधारका प्रयास भइरहेका छन् यी सबै परिवर्तनसँग सम्बन्धित छन् । सबैभन्दा राम्रो निर्णय भनेको नेविसंघमा लगाइएको ३२ वर्षको उमेरहद हो । हुन त यसको विरोध पार्टी पंतिबाटै भइरहेको छ उहाँहरूका आफ्नै खाले बुझाइहरू होलान् तर मेरो बिचारमा नेबिसंघमा ३२ वर्षको उमेरहद हगाउनै पर्ने ७ कारण छन् ।

विद्यार्थीको एजेन्डालाई सम्बोधन गर्न

नेबिसंघ विशुद्ध विद्यार्थीहरूको सङ्गठन हो र यसलाई विद्यार्थीकै हक र हितमा लाग्न प्रेरणा दिनुपर्छ । जब विद्यार्थीको कुरा आउँछ तब एउटा विद्यार्थीको मर्का बुझ्न अर्को विद्यार्थी नै चाहिन्छ ।

हाम्रो संस्कार पहिलेदेखि नै गलत छ, हामी ४५ वर्ष काटेका परिपक्व भएका घरबार चलाउने उमेर भएकाहरूलाई नेता बनाउने गर्छौँ जब कि उसले विद्यार्थी जीवन सिध्याएको पनि १५-२० वर्ष भैसकेको हुन्छ त्यो समयमा न त उसले विद्यार्थीको पिडा नै बुझ्न सक्छ न त विद्यार्थीवाला सोंच हुन्छ । खासमा भन्ने हो भने एउटा जेनेरेसन नै ग्याप् भैसकेको हुन्छ । जेनेरेसन ग्यापले सोंचमा कति फरक पार्छ भन्ने त हामीले देखाकै छौँ ।

सङ्गठनमा टिके प्रथा हटाउन

नेपाली राजनीतिको एउटा नमिठो तर अनिवार्य जस्तो बनेको प्रथा भनेको टिके प्रथा हो, र यो प्रथा हटाउनको लागि पनि ३२ वर्षे उमेरहदले निकै ठुलो भूमिका खेल्ने छ ।

हामी धेरैले भोगेका छौँ कि पार्टीका विभिन्न सङ्गठनमा नेतृत्वले हस्तक्षेप गरेकै हुन्छन् त्यो नेपाली काँग्रेसमा मात्र होइन लगभग सबै ठुला पार्टीमा यस्तो हुनेगरेको छ । यसको मुख्य कारण के हुन् भने नेतृत्वसँग विद्यार्थी नेताहरूलाई व्यवस्थापन गर्न उचित विकल्प नहुनु र सङ्गठनभित्र नै विश्वास नहुनु ।

जब सङ्गठनभित्र उमेरहद हुन्छ तब कि त विद्यार्थी नेतृत्वले आफ्नो विकल्प पार्टी वा अन्य सङ्गठनमा बनाउँछ या त राजनीति भन्दा बाहिरका क्षेत्रमा विकल्प खोज्छ ।

टिके प्रथा र गोजी प्रथा हुने अर्को मुख्य कारण भनेको चाप्लुसी र जी हजुरी हो, र यो प्रवृत्ति उमेर बढ्दै गएपछि हुने गर्छ जब मान्छेलाई मा आफैले केही गर्न सक्छु भन्ने लाग्छ तब कसैको चाप्लुसी गर्ने इच्छा हुँदैन ।

विश्व राजनीति अनुसार अगाडी बढ्न

समय परिवर्तनशील छ संसारभर युवाको नेतृत्वको लहड छ र जहाँ युवाले देश सम्हालेका छन् त्यहाँ अनौठा विकास भएका छन् र जनताले पनि परिवर्तन महसुस गरेका छन् ।

हरेक पार्टी र नेतृत्वले एउटा कुरा बुझ्नुपर्ने के हो भने देशमा परिवर्तन आउने भनेकै सोंचले हो भिजनले हो तर हामी त उल्टो दौडमा छौँ, हामी कुरा परिवर्तनका गर्ने तर नेतृत्व परिवर्तनको आवश्यकता नदेख्ने । जब कि १०औं वर्ष देखि सिन्को भाँच्न नसकेका नेताका परिवर्तनकारी भाषणमा मक्ख पर्ने तर उसले अहिलेसम्म कुनै परिवर्तन गर्न नसकेको हिसाब किताब भने नगर्ने ।

अमेरिकामा बाराक ओबामा युवा अवस्थामै देशको राष्ट्रपति बने उनले गरेका परिवर्तनका काम दुनियाँले देख्यो चीनका राष्ट्रपति पनि हाम्रा नेताजस्ता बुढा छैनन्, उनले चीनलाई कहाँबाट कहाँ पुर्‍याए, अस्ट्रेलियामा युवाकै नेतृत्वमा देश छ, हाम्रै छिमेकी मुलुक भारतमा प्रतिपक्षी दल काँग्रेसको नेतृत्व राहुल गान्धीलाई दिइएको छ । यस्ता धेरै उदाहरण छन् दुनियाँमा कि अब नेतृत्व युवालाई दिनुपर्छ भन्ने ।

राजनीतिक अवकाशको संस्कार विकास गर्न

नेबिसंघमा लगाइएको ३२ वर्षे उमेरहदले नेपाली राजनीतिको इतिहास बदल्न सक्ने एउटा अवसर बोकेको छ । त्यो भनेको राजनीतिक अवकाशको संस्कार बसाल्ने हो ।

नेपाली राजनीतिमा हामीले कल्पना पनि गर्न नसक्ने यो विषय परिवर्तन गर्न यो उमेर हदले सहयोग गर्छ भन्ने मलाई लाग्छ जब नेतृत्वमा युवाहरू आउंछन तब उमेर पाकेकाहरू र एजेन्डा बिनाका राजनीति गर्नेहरू स्वतः विस्थापित हुन्छन् र हुनुपर्छ पनि । यसले कुनै पार्टीलाई मात्र फाइदा हुँदैन यसले सिङ्गो राष्ट्रलाई फाइदा गर्छ र बेरोजगारहरूले राजनीतिलाई बनाएको विकल्पको पनि अन्त्य हुन्छ ।

योग्यहरूले मात्र नेतृत्व गर्छन्

एक जना विद्वानको भनाई छ यदि तिमीले राजनीतिमा भाग लिएनौ भने आफूभन्दा कमजोरबाट शासित हुनुपर्नेछ । हो हाम्रो अहिलेको राजनीतिक परिवेश यही हो । हरेक बेरोजगारी र असक्षमहरुको गन्तव्य भनेको राजनीति बनेको छ र त्यही भीडले जब तपाईँ हाम्रो नेतृत्व गर्छ त्यसको परिणाम त हामीले देखेकै छौँ त्यसैले काबिल र सक्षम व्यक्तिलाई मात्र राजनीतिमा ल्याउने र टिकाउने भनेकै उमेरहदले नै हो ।

नयाँ पुस्तालाई राजनीतिमा सक्रिय बनाउन

पछिल्लो समय राजनीति नै धेरै बदनाम बनेको छ, कतिपय ठाउँमा त मान्छेले मा राजनीति गर्छु भन्न सक्ने अवस्था पनि छैन त्यसैले आजकल धेरैले मैले समाजसेवा गर्छु भन्ने गर्छन् । खासमा यो निकै सम्मानित काम हुनुपर्ने हो तर हाम्रो देशमा दिनानुदिन यो घृणाको विषय बन्दै गइरहेको छ ।

यसको प्रतक्ष्य असर भनेको युवा पुस्तालाई नै परेको छ, उनीहरू राजनीतिमा आउन चाहँदैनन् । यो कामलाई सकारात्मक रूपमा लिन सकेका छैनन् । अर्को कुरा उमेर पुगेकाले पनि पार्टीको नेतृत्व नछाडेकाले उनीहरूले अवसर पाउने कुरा सुनिश्चित देख्दैनन् । युवाहरू राजनीतिबाट टाढा टाढा बन्दै गएको यो समयमा उनीहरूलाई सक्रिय बनाउन पनि उमेर हदले सहयोग गर्नेछ ।

नेविसंघ, काँग्रेस र देशलाई रूपान्तरण गर्न

२००७ सालबाट चल्दै आएको बिचार केही परिमार्जन गर्ने हो भने अहिलेको समयमा कति सान्दर्भिक हुन्थ्यो होला ? पार्टीलाई नयाँ रूपमा जनताको माझमा लैजानेहो भने कति फरक हुन्थ्यो होला ? नेविसंघमा विद्यार्थीले नै नेतृत्व गर्नेहो भने पार्टी र कार्यकर्तालाई कति गर्व महसुस हुन्थ्यो होला ?

यस्ता धेरै अनुत्तरित प्रश्नको जवाफ जम्मा एउटा कामभित्र भेटिन्छन् त्यो भनेको ३२ वर्षे उमेरहद नै हो । नयाँ पुस्ताको नेतृत्व गर्न पुरानो सोचले हुँदैन भन्ने संस्कारको विकास गर्नेहो भने मात्र हामीले धेरै काम नै गर्न पर्दैन, जनताको माझमा धेरै झुट बोल्नु पनि पर्दैन, जालझेलको राजनीति पनि गर्नुपर्दैन । एउटा युवाले नेविसंघलाई परिवर्तन गर्छ भने पार्टी आफै परिवर्तन हुन बाध्य हुन्छ । जब पार्टी परिवर्तन हुन्छ राज्य त्यसै रूपान्तरण हुनेछ ।

यो समय फलानोले गरेको निर्णय मान्दैनौ, मैले भनेकै हुनुपर्छ भन्ने होइन । नेतृत्वले गरेको हरेक राम्रो कामलाई स्विकार्न सक्ने र गलत माथि आवाज उठाउने र सच्याउन प्रेरित गर्ने समय हो । र पार्टी कार्यकर्ता, जनता र युवाले यही खोजिरहेका छन् ।