उमेर नपुगेको भन्दै बिहे गरेको ६ दिनपछि रद्द
रासस/रुकुम । विवाह गरेको ६ दिनमै यहाँका एक जोडीको विवाह रद्द भएको छ ।
जिल्लाको सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नं ४ की १९ वर्षीया बालिकाबीच भएको विवाह रद्द भएको हो ।
उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँ रहेका मौराखारा वडास्तरीय बाल सञ्जालले प्रहरीसमक्ष निवेदन दिएपछि विवाह रद्द भएको हो ।
आज प्रहरी चौकी सिम्लीमा दुवै पक्षको छलफलबाट विवाह रद्द गरेर ती बालबालिकालाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । दुवैका आमाबुबाको मञ्जुरीमा गत वैशाख ५ गते उनीहरुको मागी विवाह भएको थियो । तर यहाँको बाल सञ्जालले बाल विवाहमुक्त गाउँपालिका बनाउन सक्रिय भएकाले विवाह रद्द गरिएको बताएको छ ।
यो सँगै यहाँ अहिलेसम्म ११ जोडिको यस्ता बाल विवाह रद्द भएका छन् । बाल सञ्जालको सक्रियतामा यहाँ बाल विवाह न्यूनीकरण हुँदै आएको बताएको छ ।