नयाँ दिल्लीको जेएनयुमा विद्यार्थी नेता उमर खालिदलाई लक्षित गरेर गोली प्रहर - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

नयाँ दिल्लीको जेएनयुमा विद्यार्थी नेता उमर खालिदलाई लक्षित गरेर गोली प्रहर



नयाँ दिल्ली, । भारतीय राजधानी नयाँ दिल्लीस्थित जवाहर नेहरु विश्वविद्यालयका एक जना विद्यार्थी नेता उमर खालिदलाई लक्षित गरेर गोली प्रहर भएको छ। आक्रमणमा खालिद सकुशल रहेका छन्।

नयाँ दिल्लीस्थित कंस्टिट्युसन क्लबबाहिर उक्त घटना भएको हो। उक्स्त क्षेत्र भारतीय राजधानीको उच्च सुरक्षा सतर्कता अपनाइने क्षेत्रमध्ये हो। उक्त गोली कसले चलाएको हो भन्ने कुराको जाँच भइरहेको बताइएको छ।

दिल्ली प्रहरीका अनुसार आक्रमणकारी भाग्न सफल भएको तर उसले गोली चलाउन प्रयोग गरिएको बन्दुक घटनास्थलमै खसेकोले उक्त हतियार प्रहरीले बरामद गरेको जनाइएको छ।

एक जना प्रत्यक्षदर्शीका अनुसार खालिदलाई घचेटेर उनीमाथि गोली चलाइएको थियो।

दिल्लीको कंस्टिट्युसन क्लब विविध मुद्दाहरूमा बहस हुने केन्द्र हो। जेएनयुमा पिएचडीमा अध्ययनरत खालिद उक्त स्थलमा ‘खौफ से आजादी’ भन्ने कार्यक्रममा भाग लिन गएका थिए। उक्त कार्यक्रम ‘युनाइटेड अगेन्स्ट हेट’ भन्ने सस्थाको आयोजनामा हुँदै थियो। उक्त कार्यक्रममा मोदी नेतृत्वको भारतमा बढ्दो सामाजिक विग्रहमाथि चर्चा हुँदै थियो।

खालिदलाई पछिल्लो समय भारतमा बहुचर्चित जेएनयु विवादमा ‘भारत विरोधी’ नारा लगाएको आरोप लागेको थियो।

यस घटनाप्रति प्रतिक्रिया दिँदै खालिद्का साथी एवं जेएनयु छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारले यो आक्रमण स्वतन्त्र आवाजलाई दबाउने षड्यन्त्र अन्तर्गत भएको आरोप लागाएका छन्।