एक दिनमै उल्टियो निर्णय: जागेश्वर गौतमसहित ४ को सरुवा रोक्न देउवाको निर्देशन
काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवाको निर्णय कार्यन्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । राज्यमन्त्री श्रेष्ठले हिजोमात्रै गरेका सरुवा एक दिन नबित्दै रोकिएका छन् ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमसहित ४ जना स्वास्थ्य अधिकारीको सरुवा रोक्न निर्देशन दिएको बताइएको छ ।
सरुवा रोकिनेमा वीरका प्रशासकीय प्रमुख गौतम, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.रुद्र मरासिनी, सार्क क्षयरोग केन्द्रका विवेकलाल कर्ण र फाजिलमा रहेकी रिता भण्डारी जोशीको नाम छ ।
स्वाथ्य मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णय गरी चार स्वास्थ्य अधिकारीको सरुवा गरिएको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालका प्रमुख गौतमलाई परोपकार प्रसूति अस्पतालमा सरुवा गरिएको थियो । वीरको प्रमुखमा डा. मरासिनीलाई लगिएको थियो ।
भण्डारीलाई सार्क क्षयरोग केन्द्रमा र विवेकलाल कर्णलाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिइएको थियो ।