उखान र टुक्काले विदेशीहरुले लगानी गर्दैनन् : प्रकाशमान सिंह - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

उखान र टुक्काले विदेशीहरुले लगानी गर्दैनन् : प्रकाशमान सिंह



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई निकम्माको संज्ञा दिएका छन् ।शनिबार काठमाडौंको ठमेलमा आयोजित नेपाली कांग्रेस गण्डकी गाउँपालिका स्तरीय १ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसका सम्पूर्ण कार्यकर्ता र पदाधिकारीहरुले सम्पर्क कार्यालय, केन्द्रीय कार्यालयको समन्वयमा रहेर सशक्त ढङ्गको ईसूवाईज आन्दोलनका कार्यक्रमसहित यो निकम्मा सरकारको रहेक गतिविधि जनतासामू ल्याएर संघीय निर्वाचनमा नेपाली काँग्रेसलाई अग्रस्थानमा ल्याउनुपर्ने बताए । उनले सङ्गठन विस्तारलाई कसरी सशक्त बनाउने भन्ने विषयमा चिन्तनमनन् गर्नु आवश्यक रहेको पनि सुनाए ।

उनले भने,‘अहिले हामीले सन्तोषको सास फेर्न पाएका छैनौं, जनताले नेपाली काँग्रेसलाई नियाली रहेका छन्, एक अर्कालाई हिजो छ्यापाछ्याप गर्ने परिपाटीलाई अन्त्य गर्दै पार्टीलाई मजबुत बनाएर अगाडि लैजानुपर्छ।’

उनले कम्युनिष्टहरुको दुईतिहाई बहुमत रहेको र जिल्ला र प्रदेशमा आफूहरु शून्य रहेको सुनाए । उनले भने,‘पार्टीलाई विधिसम्मत, नियमसम्मत, विद्यानसम्मत र हाम्रा मात्रै राम्रा चाहीँ पाखा लगाउने परिपाटीको अन्त्य गर्दै लगिएन भने हाम्रो पार्टी गम्भिर मोडमा जानसक्छ ।’

उनले सरकारले लगानी सम्मेलन गरेर समृद्ध नेपालको सपना देखेको भएपनि तर उखान र टुक्काले विदेशीहरुले लगानी गर्ने अवस्था नरहेको जिकिर गरे । अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विगारेको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचार, हिंसा, दण्डहीनता, बढ्दो असुरक्षाको बीच कोही पनि लगानी गर्न आउनेवाला छैनन् ।’

साना माछा समात्न नसक्ने सरकारले ठूला माछा समात्छ भन्ने कल्पना नगर्दा हुन्छ भन्ने उनको दाबी थियो । वाईडबडी, मेलम्ची खानेपानी, निर्मला हत्याकाण्डमा सरकार चुकेको पनि उनले आरोप लगाए ।