उही एमाले, फेरि उही विवाद - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

उही एमाले, फेरि उही विवाद



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो ।

गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

बिहीबार र शुक्रबार एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसे पनि विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफलको एजेन्डा नै बन्न सकेन ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, ६ कात्तिकमा देशैभरिको वडा अधिवेशन, ९ कात्तिकमा हुने पालिका अधिवेशन, पार्टीको १०औं महाधिवेशन, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयिक विषयबारे छलफल हुने एजेन्डा रहेको थियो ।

तेस्रो धारका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । एमालेभित्र विवाद चर्किएका बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटीका १० सदस्य सोही सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले गरेपछि एमालेमै फर्किएका थिए ।

उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताले १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका छन् ।

१० बुँदे सहमति कार्यान्वयनका विषयमा अध्यक्ष ओली, तेस्रो धारका नेतासहित शीर्ष नेताका बीचमा पछिल्लो समय पटक पटक छलफल भएको छ । तर, अध्यक्ष ओलीसहित उनी पक्षीय नेताले सो सहमति कार्यान्वयन नगर्ने भनिसकेका छन् । सहमति कार्यान्वयन नहुँदा तेस्रो धारका नेता जिम्मेवारीविहीन भएका छन् । सार्वजनिक कार्यक्रममा समेत ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने उद्घोष गर्दै आएका छन् ।

रावलले ओलीको उक्त भनाइप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको विकल्प नभएको चेतावनी दिएका छन् ।

रावलद्वारा राजीनामा

यसैबीच १० बुँदे सहमति कार्यान्वयनका लागि गठन भएको कार्यदलका संयोजक रावलले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले संयोजकबाट राजीनामा दिने घोषण गरेका हुन् ।

उनले राजीनामा लिखित रूपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै रावल भने, ‘जुन हाम्रो १० बुँदे सहमति थियो, त्यो कार्यान्वयन भएन । नभएपछि म शनिबार लिखित रूपमा राजीनामा पत्र पठाउँछु भनेर जानकारी गराएको छु ।’

पार्टी अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नहुने भएकाले राजीनामा दिनुपरेको छ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने ।

रावल गत ११ असोजमा कार्यदलको संयोजक बनेका थिए । २ जेठ २०७५ मा पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो ।

१२ कात्तिकमा केन्द्रीय कमिटी बैठक
यसैबीच एमाले केन्द्रीय कमिटीको बैठक १२ कात्तिकमा बस्ने भएको छ । स्थायी कमिटीको बैठकले १२ कात्तिकमा बैठक बोलाउने निर्णय गरेको हो ।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बस्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार बैठकमा १०औं महाधिवेशनबारे छलफल हुने छ ।

बिहीबारको स्थायी कमिटी बैठकले १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुने छ ।