प्रधानमन्त्रीलाई जसपाको जवाफ: उधारोमा डिल गर्दैनौँ, नगद चाहियो
काठमाडौं- प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर पुन: वार्तमा बस्ने जानकारी ठाकुरले दिएका छन्। प्रधानमन्त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ।
कार्यदलमा सरकारी पक्षबाटसंसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् । प्रधानमन्त्रीसँग वार्तामा ठाकुरले पहिले जसपाले राखेका माग र सर्त सम्बोधनका लागि सरकारबाट ठोस् पहल भएपछि मात्र आफूहरूले सहयोगबारे छलफल गर्नसक्ने बताएका थिए। उनले पटकपटक धोखा पाएकोले अब आफूहरू उधारोमा डिल नगर्ने बताउँदै जे गर्ने हो क्यासमै गरौं भनेका थिए।
जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन,नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ।
अहिलेको त्रिशंकु संसदमा ३४ सिट जसपा निर्णायक खेलाडीका रुपमा रहेको छ। अहिले जसपाले सरकार र विपक्ष गठबन्धन दुवैतिर कुराकानी जारी राखेको छ। तर कता जाने भनेर अहिलेसम्म संस्थागत निर्णय लिएको छैन। दुवै पक्षले जसपालाई फकाउने कोसिस गरिरहेका छन्। जसपाको साथ पाए ओली सुरक्षित हुनेछन् भने उसको सहयोगबिना कांग्रेस र माओवादी केन्द्रसहितकको सत्ता गठबन्धन पनि संभव हुँदैन। जसपा तटस्थ बसिदियो भने न ओलीले विश्वासको मत पाउनेछन् न त वैकल्पिक सरकार बन्नेछ। त्यो अवस्थामा मुलुक फेरि स्वभाविक रुपमा चुनावमै फर्किने अवस्था बन्नेछ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यसमा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन्। अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६(२ निलम्वित), माओवादी केन्द्रका ४९ (चारजना एमालेतिर फर्केको) र जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्। ओलीलाई सुरक्षित हुन सिंगो जसपा पनि आवश्यक पर्दैन। १७ मत मात्रै भए ओली सुरक्षित हुन्छन्।
त्यसैले सकेसम्म सिंगै जसपासँग सहकार्य गर्ने र त्यो संभव नभए फुटाएर भए पनि आवश्यक संख्या जुटाउने रणनीतिमा बालुवाटार छ। कसलाई सहयोग गर्ने भन्नेबारेमाा जसपाभित्रै विवाद छ। बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत ओलीसँग सहकार्य गर्न इच्छुक छैनन्। महन्थ ठाकुर र राजेन्द्र महतोलगायत ओलीसँग निकट देखिएको अन्नपूर्णले लेखेको छ।